विरक्तिए माग्नेबुढा ! सलमान खानमाथि आफुले गरेको टिप्पणीमा यस्तो लेख्दै माफी मागे


हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ एकाएक विरक्तिएका छन् । विरक्तिनुको कारणले हो, उनले हिजो फेसबुकमा पोष्ट गरेको स्टाटसमा निम्तिएको विवाद ।

उनले भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको विषयमा उनले सो स्टाटस लेखेका थिए । सलमान नेपाल नआउँदैमा दुखी हुनु नपर्ने उनको टिप्पणी थियो । यसमा उनको पक्ष र विपक्षमा कैयन् प्रतिक्रिया आए । पोखरामा रामकहानी फिल्मको ‘होलनाइट’ सुटिङमा रहेका बेला उनको फोनको घन्टी ट्याङ ट्याङ बजिरह्यो ।

एउटा कलाकार कलाकार भएर अर्को देशको कलाकारप्रति नकारात्मक टिप्पणी गरेको भनेर धेरैले उनलाई पाठ पढाउन खोजे । थुप्रै कलाकारहरुले फोन गरेर ‘त्यस्तो नलेखेको भए हुन्थ्यो’ भन्ने अर्ति दिए । माग्नेबुढालाई दिक्क लाग्यो ।

‘मैले एउटा एउटा देशप्रेमी नागरिकको रुपमा सोझो मनले आफ्नो भावना व्यक्त गरेको थिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘तर, जे जस्ता प्रतिक्रिया आए, त्यसले मैले गलत नै पो गरिछु कि भन्ने लाग्यो र माफी मागेँ ।

उनले अगाडि थपे, ‘आखिर देशप्रेमको ठेक्का मैले मात्रै त लिएको छैन नी । सबैका लागि सलमान नै ठूलो हो भने म किन छुच्चो बन्नु ?’

उनले पछिल्लो स्टाटसमा लेखेका छन्, ‘हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो । सलमान, आयोजक र सलमानका प्रशंसकसँग क्षमा चाहन्छु ।’

उनले थपेका छन्, ‘हेपाहा प्रवृत्ति नाजायज नै हो छिमेकी छिमेकी बीच बराबरीको सम्वन्ध हुनुपर्छ । मभन्दा हजुरहरु बुझ्ने हुनुहुन्छ ।

माग्ने बुढाको यो स्टाटसमा चाहिँ धेरैले ‘माफी माग्नु आवश्यक थिएन’ भन्ने प्रतिक्रिया दिएका छन् ।

‘यसो गर्दा पनि सुख छैन, त्यसो गर्दा पनि सुख छैन, म के गरौं ?’ उनी गन्गनाए, ‘मेरो अरु केही कामधन्दा नभएको भए यसैमा लागिरहन्थेँ होला, तर अब चुप बस्नु नै ठिक होला भन्ने लागेको छ ।’

दिपकराजको भनाईः गल्ति भएकै हो

माग्नेबुढाका सहकर्मी हास्यकलाकार दिपकराज गिरीले माग्ने बुढाको अघिल्लो स्टाटसमा गल्ति भएको संकेत गरेका छन् ।

दोस्रो स्टाटसमा कमेन्ट गर्दै उनले लेखेका छन्, ‘गल्ति सबैबाट हुन्छ । स्वीकार ठूलो कुरा हो । तर एउटा कुरा चाहिँ हामीले याद गर्नु पर्छ, राष्ट्रबाद ठिक्क भयो भने मुलुक एकदिन विकसित होला, तर बढि भयो भने चाहिँ उत्तर कोरिया हुनेछौं।’

दिपकराजको यो प्रतिक्रियालाई ३८ जनाले जवाफ दिएका छन् । धेरैले ‘उत्तर कोरिया नेपालभन्दा धेरै राम्रो स्थितिमा रहेको’ भन्दै गिरीको आलोचना गरेका छन् ।

प्रकाशित मिति   :