यस्ता बन्दैछन दाङमा सुबिधा सम्पन्न होटेल, होटेलमा मात्र ५ अर्ब भन्दा बढीको लगानी


टीकाबहादुर बस्नेत

फागुन २०, दाङ । सरकारद्वारा दाङलाई मेगासिटी बनाउने तयारी थालिएसँगै यहाँको होटेल व्यवसायले फड्को मार्दै गएको छ । सरकारले प्रदेशनम्वर ५ का घोराही–तुलसीपुर, बुटवल–भैरहवा र नेपालगञ्जलाई मेगासिटी बनाउने तयारी गरेसँगै दाङमा अत्याधुनिक होटल खुल्नेक्रम सुरु भएको हो ।

विगत दुई वर्षयता जिल्लामा दर्जन बढी सुविधा सम्पन्न होटल खुलेका छन् । पर्यटन र आर्थिक क्षेत्रको विकासमा टेवा पु¥याउने आधारका रुपमा लिइने होटल व्यवसायमा पछिल्ला वर्षहरुमा लगानी बढ्दै गएको दाङ जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष नारायणप्रसाद भुसालले जिल्लाका घोराही, तुलसीपुर, देउखुरीलगायतका स्थानमा पछिल्ला केही वर्षयता होटेल व्यवसायमा लगानी बढ्दै गएको बताउनुभयो ।

एकपछि अर्को गर्दै सुविधा सम्पन्न होटल खुल्ने क्रम चलिरहेको बताउँदै अध्यक्ष भुसालले भन्नुभयो, ‘पछिल्लो तीन वर्षलाई हेर्दा जिल्लामा होटल व्यवसायमा ह्वात्तै लगानी बढेको छ । एउटै होटलमा १५ करोडसम्म लगानी लगाइएको छ । यो सुखद् पक्ष हो ।’ घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांक अनुसार जिल्लाको होटल व्यवसायमा तीन लाखदेखि १५ करोडसम्मको लगानी लगाइएको छ ।
पछिल्लो दुई वर्ष यता जिल्ला सदरमुकाम घोराहीमा मात्रै आधा दर्जन सुविधा सम्पन्न होटलहरु खुलेका छन् । जसमा होटल सिटीप्लाजा, भिंग्रेली भिलेज रिसोर्ट, म्याजिष्टिक, होटल डोको र होटल माला ईन रहेका छन् । यी होटेलहरुमा करोडांैको लगानी लगाइएको व्यवसायीहरुको बताउँछन् ।

जिल्लाको पर्यटन र आर्थिक विकासका लागि आफूहरुले होटेल व्यवसायमा लगानी लगाएको व्यवसायीहरुको होटल माला ईनका सञ्चालक ओवेन्द्र महराले बताउनुभयो । १५ करोडको लगानीमा आफूले माला ईन सञ्चालनमा ल्याएको व्यवसायी महराको भनाई छ । त्यस्तै भिंग्रेली भिलेज एण्ड रिसोर्टले पनि १५ करोडको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएको जनाएको छ ।

यसैबीच घरेलु तथा साना उद्योग कार्यालयको उद्योग विकास शाखा दाङको तथ्याङ्क अनुसार जिल्लामा होटेल व्यवसायमा ५ अर्ब ९४ करोड ९० लाख ८२ हजार १ सय ९४ रुपैयाँ लगानी लागेको छ । र होटल व्यवसायमा २ हजार २ जनाले प्रत्यक्ष रोजगार पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यता दाङ देउखुरी होटल व्यवसायी समितिले जिल्लाका होटलमा ५ लाखदेखि १६ करोडसम्मको लगानी रहेको जनाएको छ । समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले समितिमा १ हजार १ सय होटलहरु आवद्ध रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति   :