टिप्स

म भेडो !

रवि कुमार श्रेष्ठ । मेरो एक जना अमेरिकाबाट पिएचडी गरेको साथीले भन्यो, ‘तिमी कस्तो भेडो भएको ?’ उसको कुराले झनक्कै रिस उठेर आयो।

खासमा उसको भनाइ ठीकै रहेछ।

म आफ्नो काममा एकोहोरो भएकाले उसले भनेको हुनुपर्छ यस्तो। अनि मैले पनि थपें, ‘तिमी त झन् ठूलो विदेशी र उन्नत जातको भेडो।’

खासमा उनी पनि कुनै काम गर्दा एकोहोरो, नसकुन्जेल लागि रहन्थ्यो भेडोजस्तो भएर।

उसले आफू अमेरिकामा पढ्दा, काम गर्दा र घुम्दाको वर्णन एकोहोरो तरिकाले गथ्र्यो। मलाई उसको लगन, जोश र मिहिनेतले प्रभावित गरेको छ।

अनि मलाई ऊ एउटा विकसित भेडोजस्तो लाग्छ।

भेडोको अर्थ दुई खाले पाइन्छ।

सतही रूपले भेडो वा भेडाभन्दा एक यस्तो घरपालुवा प्राणी भेटिन्छ जुन मालिकको अति आज्ञाकारी हुन्छ। गोठालाले जति यसको शोषण गरे पनि उसको आज्ञा पालना गर्छ।

अर्को लाक्षणिक अर्थमा एकोहोरो कुनै कार्य वा क्रियाकलापमा लाग्ने व्यक्तिलाई भेडो भनिन्छ। त्यसैगरी कसैको कुरा नसुन्ने आफ्नो मात्र ढिपी गर्नेलाई पनि भेडो नै भनिन्छ।

हुनतः भिक्टोरियन युगका विश्वविख्यात अङ्ग्रेजी वैज्ञानिक चार्ल्स डार्बिनले मानवलाई विकसित बाँदर भनेको छ। तर म किन किन मानवको स्वभाव बाँदरसँग मिलेको पाउँदिनँ।

मानव र बाँदरमा मुख्य फरक के भने मानव हुर्किँदै जाँदा आफ्नो वासस्थान बनाउनतिर लाग्छ। जबकी बाँदरको स्वभाव ठीक उल्टो देखिन्छ। तर मानवलाई म भेडोजस्तै एकोहोरिएको पाउँछु।

गोठालाले जे भन्यो सबै भेडो उतै लाग्छन्। त्यसैगरी प्रायःजस्तो मानवहरू अति जान्ने बुझ्नेले भनेको नसोची, नबुझी वा बढी नै बुझी एकोहोरो लागेको पाउँछु। मानवको भेडोसित सम्बन्ध अति पुरानो पाइन्छ।

मानव जीवनको इतिहासलाई हेर्दा मानवले पहिला पाल्ने घरपालुवा जनावरमा भेडाकै नाम आउँछ।

प्राचीन साहित्यमा भेडा, भेडा चराउने र भेडा गोठालाको कुरा आउँछ।

प्राचिन सुमेरियन सभ्यता झन्डै ४००० बिसीदेखि २००० बिसीसम्म हो।

यो सभ्यतामा मानवहरूसँग धेरै भेडा बथान हुन्थे। मासु, दूध, कपडा आदिको लागि भेडा पालेको उल्लेख गरिन्छ।

त्यस्तै प्रकारले इजिप्सियनहरूले पनि भेडा मासु, दूध, कपडा र मलको लागि पाल्थे र साथै देवीदेवताको रूपमा पनि हेर्ने गरेको इजिप्सियन सभ्यतामा उल्लेख गरेको पाइन्छ।

त्यस्तै प्रकारले ग्रीकहरू र रोमनहरूले पनि भेडाको बली दिने गरेको उल्लेख गरेको पाइन्छ। जुदेइज्म, ईस्लाम र इसाई धर्ममा पनि भेडा र भेडा गोठालो आदिको चर्चा परिचर्चा गरेको प्रशस्त पाइन्छ।

इजरायलीहरूलाई पहिले भेडासँगै भगवानले तुलना गरेको पाइन्छ। कतैकतै बाइवलमा भेडालाई भगवानको मान्छे भनेको पनि पाइन्छ।

सामान्य तबरले भेडोलाई अध्ययन गर्दा भेडो अति नै निर्दोष, ज्ञानी र आज्ञाकारी जनावर लाग्छ। मानवले भेडा पाल्छन्। यसको दूध, रौं र मासु प्रयोगमा ल्याउँछन्। उनको शरीरको पूरै रौं काटे पनि चुपचाप सहेर बस्ने प्राणी वास्तवमा भेडो हो।

प्रायः हरेक देशमा जनताहरू भेडा सोझासाझा जस्तै देखिँदैन र? हरेक देशको सर्वोच्च निकाय भनेको त्यहाँको सरकार नै हो। सरकार भनेको राजनीतिक नेताहरूको जमात हो। बढी जान्ने, बुझ्ने, बढ्याइँ गर्ने जमातहरूको राजनीतिले सरकार हाँक्छ र निर्दोष जनताहरू यदि गलत राजनीतिक नेताहरूले चलाएको सरकारअन्तर्गत भए जनता भेडो भएन त ?

उन्नाइसौं शताब्दीमा अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कन (जसलाई महान् अमेरिकन पनि भनिन्छ)ले प्रजातन्त्रको परिभाषा गरे ‘प्रजातन्त्र जनताका लागि, जनताका र जनताद्वारा हो।’

बिसौं शताब्दीको सबभन्दा ठूलो अङ्ग्रेजी साहित्यका नाटककार जर्ज बर्नाड शाले सो लिङ्कनको भनाइको खण्डन गरे।

शाले भने, ‘प्रजातन्त्र जनताको लागि र जनताको हो तर जनताद्वारा होइन।’

उनको भनाइको तात्पर्य थोरै जान्ने बुझ्ने र बठ्याइँ गर्ने नेताहरूले धेरैजस्तो सोझा जनतामाथि शासन गरिरहेको हुन्छ। त्यसैले प्रजातन्त्र त थोरैले धेरैमाथि लाद्ने प्रणाली हो भन्ने कुरा शा भन्छन्।

जनावर भेडोलाई सकारात्मकबाहेक नकारात्मक रूपले मात्र लिँदा भेडो जाति वा प्राणीमाथि ठूलो अन्याय हुन्छ। तर मानव भेडोलाई सकारात्मक एवम् नकारात्मक दुवै अर्थमा लिँदा भेडाको वास्तविक अर्थ छर्लङ्गिन्छ जस्तो लाग्छ मलाई।

हुनतः मानवलाई नराम्रो अर्थमा मात्र भेडो भन्दा जनावर अधिकारको हनन भएको बुझिन्छ। तर मानवलाई राम्रो भेडोको अर्थमा पनि लिँदा फेरि भेडोलाई न्याय दिएको भान हुन्छ।

तर, जेहोस् मानव पृथ्वीमा सबभन्दा विकसित प्राणी पनि देखिन्छ। यसकारणले मानवलाई भेडासित तुलना गर्दा मानव भेडो धेरै खाले देखिन्छजस्तो मलाई लाग्छ।

हाम्रो परिवार वा समाजमा आफ्नो पारामा रमाउने, अरुको कुरा नसुन्ने र आफ्नो मात्र कुरा सुनाउन खोज्नेलाई भेडो भनिन्छ। यस्तो भेडोलाई भीरको चिचिण्डो वा अप्ठ्यारामा फलेको फर्सी पनि भन्ने गरिन्छ। यस्तो खाले भेडोमा कोही आफ्नो श्रीमतीबाहेक कसैको कुरा नसुन्ने हुन्छ। बाबुआमा, दाजुभाइ, इष्टमित्र इत्यादिको राम्रो कुरालाई पनि लत्याउँदा यस्तो भेडो अप्ठ्यारो परेको पनि पाइन्छ।

त्यस्तै, कोही भेडो श्रीमतीबाहेक सबैको कुरा सुन्ने एकोहोरो पनि हुन्छ । अब श्रीमती जोसँग पूरै जीवन बिताइन्छ, उनको कुरा नसुन्दा जीवन के होला ? अनि यस्तालाई तपाईंले भेडो नभन्ने ?

जीवनमा सफलता चुम्न कुनै पनि काममा दत्तचित्त, इमान्दार, मिहिनेती हुनु जरुरी छ। यस्ता व्यक्ति भेडो जस्तो एकोहोरो लागिपरेको देखिन्छ र सफलताको चुचुरोमा पुग्न सफल हुन्छन्। ठूलाठूला वैज्ञानिकहरू, दार्शनिकहरू, चिन्तकहरू, लेखकहरू इत्यादिको जीवनी अध्ययन गर्दा उनीहरू पनि एक खाले उन्नत जातको भेडो नै देखिन्छ।

कोपर्निकसले पृथ्वीको वरिपरि होइन सूर्यको वरिपरि सारा ग्रहहरू घुम्छन् भनी एकाहोरो नलागेको भए के हुन्थ्यो ? फ्रान्सका दार्शनिकहरू भोल्टेयर, रुसो आदि निडर भई एकोहोरो मानव स्वतन्त्रताको लागि नलागेको भए फ्रान्सको राज्य क्रान्ति सफल हुन्थ्यो त ? थोमस एल्भा एडिसनले आफ्नो नाम नै बिर्सने गरी एकोहोरो नलागेको भए बिजुलीको बल्बसम्बन्धी कैंयौँ अविष्कार सम्भव हुन्थ्यो ? सर आइज्याक न्युटनको गुरुत्वाकर्षणको सिद्धान्त र अल्बर्ट आइन्सटाइनको समय सापेक्षवादको सिद्धान्त त्यतिकै प्रतिपादन भएको हो र ? के डार्बिन वैज्ञानिक डार्बिन बन्न भेडो जस्तो भएर लाग्नु परेन र ?

के यी माथिका केही उल्लेखित महामानवहरू अरुको विचारहरूलाई आदरभाव गरिराखेर आफ्नो विचार व्यक्त नगरेको भए, एकोहोरो खराब पद्धतिको विरोध निडर भइ नगरेको भए सफल हुन्थ्यो त ? के आज हामी उनीहरूलाई आदर्श व्यक्तिहरूको रूपमा लिइन्थ्यो त ? के उनीहरू पनि एक खाले राम्रो भेडा नै बनेनन् त ?

भेडो वा भेडोपना एक खाले प्रवृत्ति पनि हो । हरेक घर, संस्था वा सरकारमा सानाठूला भेडाहरू देखिन्छन्।

एक जना भेडो विदशेबाट एमएस गरी शिक्षण पेशामा कार्यरत छ।

ऊ एउटा नराम्रो रोगबाट ग्रसित छ कि ऊ जति जान्ने बुझ्ने संसारमा शायदै होला भनेर। कसैलाई नगन्ने र आफूलाई पनि कसैले नगनेको पत्तै नपाउने भेडो। मलाई चाहिँ ऊ अजंगको भेडो लाग्छ । समाजबाट र कुनै संस्थाबाट उछिट्टिएको वा अप्ठ्यारोमा फलेको फर्सी वा अप्ठ्यारो ठाउँमा आउने दुःख दिने पिलोजस्तो भेडो लाग्छ।

एकजना बाहिरबाट पिएचडी गरी अवकाश प्राप्त भेडो छ। आफूलाई विषयको राम्रो ज्ञान भएको तर शिक्षण उही पुरानो। कैयौं शिक्षकशिक्षिकाहरू जो आफूलाई समयसापेक्ष ढंगले परिवर्तन नगरी विद्यार्थी कुनै विषयमा पनि आफू जति जान्ने हुन सक्दैनन् भन्ने साँघुरो सोचबाट ग्रसित हुन्छन्।

त्यस्ता व्यक्तिहरू आफू पढ्दा र अहिले पढाउँदाको बीचको खाडलको जानकारी नराखी र बदलिँदो परिस्थिति अनुसारको शिक्षण कला, सीप र ज्ञान हासिल नगरी एकोहोरो ढंगले आफ्नै पुरानो विचार नयाँ युगको विद्यार्थीमाथि लाद्ने प्रकृतिका भेडा हुन्।

यस्ता भेडा शिक्षक र शिक्षिकाहरूले गर्दा पनि शिक्षण पेशा मर्यादित बन्न सक्दैन। तर, मैले कैयौं यस्ता शिक्षण पेशामा लागेका व्यक्तिहरू चिन्छु जो स्वदेश वा विदेशबाट उच्च शिक्षा हासिल गरी एकोहोरो कर्तव्यनिष्ट, इमान्दार, दतचित भई सीप, तालिम र उच्च ज्ञान हासिल गरी काम गरिरहेका छन् । शिक्षण पेशालाई मर्यादित तुल्याउने र देश विकासमा लाग्ने यस्ता भेडो मलाई विकसित भेडोजस्तो लाग्छ । यस्ता भेडोप्रति आदरसाथ नतमष्तक हुन मन लाग्छ । के हरेक संस्था, समाज र देशलाई यस्तो भेडो चाहिँदैन ?

मानव आज अन्धकारमय ढुङ्गे युगबाट उज्यालो र अति विकसित उत्तरआधुनिक युगमा प्रवेश गरेको छ । एकातिर वैज्ञानिक अविष्कारहरूले मानवको जीवन विकासको पथमा अनेक फड्को मारेको देखिन्छ । तर, अर्कोतिर प्राचीन वा मध्यकालीन युगको जस्तो धार्मिक अन्धविश्वास र कैयौं कुरीतिहरूको जन्जिरबाट अझसम्म हामीले मुक्ति पाएजस्तो लाग्दैन । नत्रभने धार्मिक, कर्मकाण्डहरू र विधिहरूमा सुधार आउथ्यौ कि ? म आफ्नो परिवार र आफन्तसँग पशुपतिको मृगस्थली वनमा वालाचतुर्दशीको दिन दुईपल्ट सद्बिज छर्न पुगें। मृगस्थलीभरि घुम्दै सद्बिज छर्दा मलाई आफू र अन्य भेडो नै हो जस्तो लाग्यो। यसको औचित्य के ? के कुनै पनि धर्मले अन्नको दुरूपयोग गर्न सिकाउँछ ? यो त धर्मको गलत व्याख्या र प्रयोगजस्तो लाग्यो।

अझै पनि पढेलेखेका भनाउँदाहरू पुरेतहरूको चङ्गुलमा फसेर छोराले वैतरणी तार्छ रे भनेको विश्वास गरी छोरीलाई बेवास्ता गरी छोरा पाउन मरिहत्ते गरेको हेर्दा र भेटाउँदा के यस्ता व्यक्ति भेडाजस्ता लाग्दैनन् तपाईलाईं ? छोराले वैतरणी तार्छ रे भनेको विश्वास गर्ने ? छोराले वैतरणी तारेको प्रमाण के ? महिलाहरूको रजस्वला मासिक रूपले हुनु नितान्त शारीरिक प्रकृया हो । तर यसलाई धर्मसँग जोडेर अझै पनि छाउगोठमा राख्ने छाउपडी प्रथा देख्दा के हामी मध्यकालीन युगको अन्धविश्वासको जन्जिरबाट मुक्त भएजस्तो लाग्छ ?

तसलिमा नसरिन एक बंगलादेशी चर्चित उपन्यासकार हुन् । उनले आफ्नो उपन्यास ‘प्रेम र जीवन’मा आफू डाक्टर भएर अस्पतालमा बिरामीको अपरेशन गरेको कुरा व्यक्त गर्छिन् । एकपल्ट उनी प्रोफेसरको सहयोगी रूपमा एक जना बिरामीको मस्तिष्कको अप्रेसन गर्दा नमाज पढ्ने बेला भयो भन्दै प्रोफसरले बिरामीलाई १५ मिनेटको बेहोसी हालतमा छाडी आफू नमाज पढ्न थाले । अनि तसलिमा नसरिनले सोचिन् के यही हो डाक्टरको धर्म ? यतिबेला कर्म मै धर्म छैन र ? के यस्ता व्यक्ति पढेलेखेको भेडो होइन त ? युरोपको पुनर्जागरण युगमा धर्मसुधार आन्दोलन भएको थियो। यस आन्दोलनमा महान् सुधारकहरू जोन विक्लिफ, जोन हब्स, इरासमस, मार्टिन लुथुर आदिले त्यतिबेलाको इसाई धर्मको नाममा पादरीहरूले विभिन्न धार्मिक कर्मकाण्डहरूको माध्यमबाट जनतालाई अन्धविश्वासमा जकडी शोषण गरेकोविरूद्धमा आन्दोलन गरेका पाउँछौं।

पुनर्जागरणको एउटा प्रमुख कारण धर्मसुधार आन्दोलन भएको थियो। के निर्दोष निमुखा जनताहरूलाई भेडो नै बनाएको होइन त ? यसरी कुनै पनि व्यक्तिले कुनै धर्ममा विद्यमान कुरीतिहरू वा अनावश्यक कर्मकाण्डहरूको विरोध गर्दा उनले सो धर्मको विरोध गर्‍यो भन्ने ठान्नु पनि भेडोपना प्रदर्शन गर्नु जस्तो लाग्छ।

प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धको इतिहास पढ्दा के युरोपेली जनताहरू भेडाजस्तै भई अन्धराष्ट्रवाद देखाई युद्धमा होमिएका होइनन् र ?

युद्धकालीन युरोपेली मुलुकहरूका शक्तिशाली नेताहरू के युद्धपिपासु भेडोजस्तो भएन त ? यसमा एडोल्फ हिटलर जर्मनीको सरकार प्रमुख (जसलाई दोस्रो विश्वयुद्धका रचयिता पनि भनिन्छ) लाई मुख्य भेडोभन्दा गल्ती नहोला कि जस्तो लाग्छ।

उनले विपरीत धारको विचार बोकेका यहुदीहरूलाई ग्याँस च्याम्बरमा राखी मारेको प्रसङ्ग यो मानव सभ्यताले बिर्सन सक्छ र ? आफू युरोपमा भएको धनजनको विनाशको प्रमुख कारण भएन त ? यसरी यस्तै भेडाले गर्दा द्वितीय विश्वयुद्धमा उनलाई प्रमुख कारण देखाएर अन्य भेडाहरू पनि आफ्नो जिद्दी छोड्न सकेन । तत्कालीन ब्रिटिस प्रधानमन्त्री विन्स्टल चर्चिल युद्धबाट फाइदा लिने ठूलो भेडो बने । युरोपमा भीषण मानव संहार भयो । तर उनले युद्धपछि द्वितीय विश्व युद्धको इतिहास नामक पुस्तकबाट नोबेल पुरस्कार सन् १९५३ मा पायो । यसरी युद्ध देश र त्यहाँका जनताहरूका लागि पनि भन्दा त्यहाँका नेताहरूको स्वार्थ सिद्धिका लागि देखिन्छ । अनि यी ठूला भेडाहरूको मारमा मानव र मानव सभ्यता चेपुवामा परेर अस्तित्व विलिन हुन पुग्दोरहेछ ।

हुनतः अनुसन्धानात्मक कार्यमा भेडोजस्तो एकोहोरो नलागी सफल हुन गाह्रै छ । उच्च अध्ययनको कार्य स्वदेश हो या विदेश राम्ररी गर्न खोजे भेडोजस्तो भएर नलागी नहुनेरहेछ । यस्ता भेडोलाई राम्रै भेडो भनिन्छ । तर, कोही कोही भेडोजस्तो बन्दा समग्र संस्था वा देशकै प्रतिष्ठामा आ“च आउ“दोरहेछ जस्तो लाग्छ । उदाहरणको लागि केही दिनअगाडि एकजना हाम्रो देशका मन्त्रीले अङ्ग्रेजीमा बोलेर अङ्गे्रजीमोह देखाएको हेर्दा शिर लाजले निहुरियो । नेपालीमा बोलेर दोभाषे राखे नि हुन्थ्यो । तर के गर्नु आफ्नो बहुलठीपन, जिद्धी र आफू जेमा पनि जान्ने छु भन्ने एकोहोरो भएर कुनै सल्लाहकारको सल्लाह नसुनी समग्र देशको प्रतिष्ठामा धक्का पु¥याउने काम गर्छ भन्ने त्यो भेडो मन्त्री होइन ? अहिले विभिन्न सञ्चार माध्यममा उहा“को अङ्ग्रेजी मोह भाइरल भइरहेछ ।

यसरी मानव जीवनको पुरानो सभ्यतादेखि वर्तमान अवस्थासम्म केलाएर हेर्दा कैयो मानवहरू भेडो बन्दा मानव सभ्यताको विकास भएको देखिन्छ भने कैयौं मानवहरू भेडो बन्दा व्यक्ति, समाज र सिङ्गो मानव समाजको दुर्गति एवम् विनाश भएको पनि पाउँछौं ।

अन्त्यमा, माथि उल्लेखित विचारहरू मेरा नितान्त व्यक्तिगत हुन्। मलाई थाहा छ, यस्ता कुराहरूले तपाईहरूमध्ये कैयौंको चित दुख्दछ, मनमा ठेस पुग्छ । र, अहममा धक्का लाग्छ तर, यी सबै कुराको पूर्वअनुमान गरी र तपाईंहरू मेरो लेख पढी मदेखि रिसाउनुहुन्छ थाहा पाउँदापाउँदै यस्तो लेख लेख्ने जमर्को गर्नाले म पनि एक खाले भेडो जस्तो देखिँदैन र ? अनि के म अमेरिकाजस्तो देशबाट पिएचडी गरी फर्केको मेरो साथीको भनाइबाट रिसाउन मिल्छ त ? -setopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *