मनोरञ्जन रोचक

महिलालाई होच्याउने गीतको भिडिओ खेल्ने रिमा, सेयर गर्ने केकी (भिडियो सहित)

मिटु अभियानमा होस् या महिला हिंसाको विरोधमा नेपाली अभिनेत्रीहरूले सधैँ आवाज उठाउँदै आएका छन्। धेरैले उनीहरूले महिला हिंसाबारे आवाज उठाएर समाजप्रतिको उत्तरदायित्व पुरा गरेको भन्दै प्रशंसा गर्छन्। हुन पनि कलाकारले समाजका राम्रा-नराम्रा पक्षबारे बोल्नुले ठूलो अर्थ राख्छ, प्रभाव पार्छ।

अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा यस मामिलामा सधैँ अगाडि थिए। त्यसका लागि उनीहरूले आफ्ना प्रशंसक र सिंगो समाजकै प्रशंसा पनि पाउँथे। नारीका लागि नारी सेलिब्रेटीको बुलन्द आवाज, समतामूलक समाजका लागि राम्रै मानिन्छ।

एक वर्ष अगाडिको निर्मलाको बलात्कारपछि भएको हत्या होस् या केही दिनअघिको छवि-शिल्पा प्रकरण। केकी र रीमा दुबैले खुलेर विरोध गरे, पीडित महिलाको पक्षमा आवाज राखे।

दुबै जना फेसबुकलगायतका सामाजिक सञ्जालमा सक्रिय छन्। उनीहरूका फेसबुक/ट्वीटर पेज महिला हिंसाको विरोध र अधिकारको पक्षमा भरिएको छ। तर अहिले आएर उनीहरूले सामाजिक सञ्जालमा गरेको एउटा सेयरले उनीहरूमाथि नैतिक प्रश्न उठाएको छ।

साता दिनअघि रिलिज भएको आर्जन पाण्डेको गीतमा उनीहरू चिप्लिएका छन्। पाण्डे केकीका निकट साथी हुन्।

गीतको बोल छ- घाँटीभन्दा तल त राम्री नै छे।

निकट साथीको गीत भएपछि केकीले सेयर नगर्ने कुरै भएन। उनले आफ्नो आधिकारिक फेसबुक पेज र व्यक्तिगत पेजमा गीतको भिडिओ सेयर गरिन्, गीतको सफलताको लागि आर्जनलाई शुभकामना दिइन्।

सो गीतमा मोडल बनेकी छन् केकीकै मिल्ने साथी-रीमा विश्वकर्मा।

केकीले गीतको भिडिओ सेयरमात्र गरेकी छैनन्, उनले टिकटक समेत बनाएकी छन्। पछिल्लो समय टिकटक गीत प्रचारको प्रभावशाली माध्यम बन्दै गएको छ।

यो गीतका शब्दहरूले महिलालाई होच्याउने, गिज्याउने र उनीहरूको वस्तुकरण गरेका छन्। यौनिक दृष्टिकोणबाट नारीलाई व्याख्या गरिएको छ, त्यो पनि एकदमै भद्दा शैलीमा।

यस्ता गीत सेयर गरेर केकी र रिमाले आफ्नो वास्तविक सोच उजागर गरेको भन्दै अहिले आलोचना भैरहेको छ।

गीतका यी शब्दले के भन्छ, के दर्शाउँछ सबैले सजिलै बुझ्ने कुरा हो। यसले महिलाको अपमान गरेको छ।

एकातिर महिला अधिकारको पक्षमा र महिला हिंसाको विरोधमा बोल्दै-लेख्दै हिँड्ने अनि अर्कोतर्फ महिलालाई होच्याउने, गिज्याउने गीतको समर्थन र प्रचार गर्दै हिँड्ने?

उनीहरूको यो शैली र गीतले सामाजिक सञ्जालमा केही दिनयता आलोचना खेपिरहेको छ। कतिले यसलाई भद्दा र छाडा भनेका छन्। यसले महिलाको अपमान गरेको कुराहरू सामाजिक प्रयोगकर्ताहरूले गरेका छन्।

उदाहरणका लागि युट्यूबको कमेन्टमा प्रियंका भुसाल नामकी एक प्रयोगकर्ताले कस्तो खालको गीत हो यो ? भनेर प्रश्न गरेकी छन्।

‘के हो यस्तो गीत, घाँटीभन्दा तल…..एकदमै खत्तम शब्द। यसले तिम्रो केटीहरूप्रतिको धारणा देखाउँछ’, उनले लेखेकी छन्।

‘योभन्दा नराम्रो गीत सुनेको पनि थिइनँ, फेद न टुप्पोको गीत । घाँटीभन्दा तल त राम्री नै छे अरे’

अर्का प्रयोगकर्ताले लेखेका छन्।

‘आजसम्म नदेखेको र नसुनेको तुच्छ मानसिकता भएको गीत लेखक। अचम्ममा छु रीमाले कसरी यस्तो गीत खेलिन?’, शर्मिला गुरूङले रीमालाई प्रश्न सोधेकी छिन्।

गीतको विरोध गर्नेमा केकीका फ्यान, सामाजिकसञ्जाल प्रयोगकर्ता मात्र छैनन्, कलाकारले पनि मिसिएका छन्।

गायिका आस्था राउतले यस गीतको चर्को विरोध गरेकी छन्।

‘के भनेको होला त्यस्तो घाँटीभन्दा तल राम्री नै छे रे। फेरि छोरी मान्छेलाई नै नराम्रो बनाएको यो के तालको गीत निकालेको होला राम राम। के यो हिट हुने निन्जा टेक्निक हो? केटीको त घाँटीभन्दा तल’ गायिका राउतले लेखेकी छन्, ‘यो लेख्ने र गाउनेको त तलदेखिमाथि सम्म केही पनि गतिलो रहेनछ, सबैभन्दा खत्तम त सोच नै हो। सोच गतिलो भएको भए छोरीमान्छेलाई हेर्ने एङ्गल गतिलो भको भए यस्तो घटिया गीत हेर्न र सुन्न पर्थेन होला। यो खत्तम छ। केटीलाई यौनको साधन बनाउनेले नै यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर सारै चिन्ता लाग्यो..छि छि छि।’

संगीतकार चेतन सापकोटा, निर्मल शर्मा लगायतले पनि गीतको विरोध गरेका छन्।

यो चर्को आलोचनाबारे केकी-रीमाको धारणा सार्वजनिक भइसकेको छैन।

अघिपछि कुनै घटना घटेपछि उनीहरूले तुरून्तै आफ्नो धारणा फेसबुकमार्फत सार्वजनिक गर्थे। यो गीतको भिडिओ हाल रीमाको वालमा नभए पनि केकीको वालमा भने यथावत नै छ।

धेरै सामाजिक सञ्जाल प्रयोकगर्ताले गीतलाई युट्युब र सामाजिक सञ्जाल आदिबाट हटाउनु पर्नेसम्मको माग राखेका छन्।

-सेतोपाटी संवाददाता

यो पनि पढ्नुहोस

सोमत नभएको केटो !

शोभा शर्मा ! ‘कस्तो सोमत नभएको केटा रैछ,’ घाँटीघाँटी आइसकेको वचन मैले रुद्रघन्टीमै रोकेँ।

जाडो महिनाको एकसाँझ कमलपोखरीबाट सिनामंगल जाने टेम्पो चढ्नेबित्तिकै मैले उसलाई देखेकी थिएँ।

त्यो साँझको अन्तिम टेम्पो थियो। सिट जति भरिएका। म उभिनेमा परेँ।

दायाँपट्टि अन्तिमबाट दोस्रोमा त्यो केटा थियो। सायद २३/२४ वर्ष उमेरको हुँदो हो। पछाडि झोला बोकेको, दुब्लो देखिन्थ्यो। उसका लामा-लामा खुट्टा फैलिएका थिए। यता छेउतिर दुई महिला थिए। उनीहरूले आफ्ना खुट्टा यसरी खुम्च्याएका थिए, मानौं उनीहरूकै कारण अरू कोच्चिन परिरहेको छ। ऊ भने घरको सोफामा झैं मस्तराम।

हामी केटीहरू त यति मस्तराम हुन कहाँ पायौं र?

घरमै त पाएनौं।

सानैमा जब हामी दिदीबहिनी त्यसरी नै खुट्टा फैलाएर बस्थ्यौं, हजुरआमाले ‘कसरी बसेको हो, सोमत पनि छैन?’ भन्नेबित्तिकै खुम्च्याउँथ्यौं।

मैतिदेवी पुगेपछि सबभन्दा अन्तिमको सिट खाली भयो।

म ‘सोमत नभएको केटा’ को छेउमा बस्नुपर्‍यो। बस्दाबस्दै मैले भनिहालेँ ‘तपाईं अलि राम्ररी बस्नु है।’ उसको ज्यान र खुट्टा दुवै चलमलाए।

म उसैगरी बसेँ जसरी सानैमा हजुरआमाले सिकाउनुभएको थियो। अलिकति फैलाए अर्कालाई हेर्न पनि गाह्रो हुन्छ कि भनेझैं खुट्टा खुम्च्याएँ।

परिवार र गाउँभरिका ठूलाहरूले सोमत सिकाउँदा सिकाउँदै मेरो, बहिनीहरूको, केटीसाथीहरूको खुम्चिने बानी परिसकेको छ। कतिसम्म, हामी एक्लै बस्दा समेत फुक्दैनौं।

तर अहँ, त्यो सार्वजनिक टेम्पोमा भेटिएको केटाले आफ्ना दुई खुट्टा नजिक लगेन। उसका खुट्टा मेरै खुट्टासँग ढेस्सिए। उसैगरी फैलिए। उसलाई हजुरआमाले कहिलै ‘कसरी बसेको, सोमत नभएको केटा!’ भनिनन् होला।

सिनामंगलसम्म पुग्दा मैले उसलाई तीनपटक त सम्झाएँ।

दोस्रोपटक मैले अलि चर्को भनेँ, ‘हेर्नुस् त उतापट्टि सबैले खुट्टा खुम्च्याएरै बस्नुभएको छ। तपाईंले खुट्टा फैलाउँदा हामी सबैलाई गाह्रो भएको छ, त्यत्ति पनि थाहा हुन्न?’

त्यसपछि उसले अलिअलि खुट्टा सम्हाल्यो। खै के सोच्यो, फेरि फैलायो। उसलाई लाग्यो होला ‘यो केटीले भनेको मैले किन मान्ने?’ ‘इगो’को आगो सल्किएको उसको शरीरको हाउभाउ र अनुहारबाटै थाहा हुन्थ्यो।

ऊ कति कमजोर अहमबाट ग्रसित भएको भनेर एकछिन त मलाई हाँसो उठ्यो। विचरा, भन्ने लाग्यो। खासमा त यस्तो निकृष्ट अहमबाट ग्रसित हुनु उसको समस्या हुनुपर्ने हो। तर उसको समस्याले मलाई पनि त समस्या भइरहेको थियो। उसलाई त्यसमा कुनै लज्जा थिएन। अझै कति समय केटाहरूलाई यस्तो खाले नराम्रो सोच वा अहम पालेकोमा लाज हुने छैन?

उसका खुट्टा मेरा खुट्टामा ढेस्सिएको देखेर मलाई झोंकै चल्यो। म पनि खुट्टा नखुम्च्याइ सजिलो गरी बस्न कोशिस गरेँ।

सार्वजनिक यातायातमा आफू सजिलो गरी बस्छु भन्ने सोचेर हुन्न। छेउको मान्छेले पनि आफू मात्र सजिलो गरी बस्छु भन्ने सोचेको छ भने सकिएन?

तर यो केटाले सहजता भन्दा बढी रवैया देखाइरहेको थियो।

उसले मलाई हामीले बुझ्ने गरेको ‘दुर्व्यवहार’ नै त गरेको होइन। तर उसको व्यवहारले मलाई निकै अप्ठ्यारो महशुस भएको थियो। उसले आफ्नो कारणले अर्को मान्छेलाई असहज भइरहेको छ भन्ने बुझिरहेको थिएन। के यो दुर्व्यवहार हैन र?

मैले सार्वजनिक यातायातमा हिँड्दा आफूले भोगेका अप्ठ्याराका कयौं घटना सम्झिएँ।

टेम्पोमा खुट्टा फैलाएर बस्ने ऊ पहिलो थिएन। मैले याद गरेमध्ये धेरैजसो केटा खुट्टा फैलाएर बस्छन्। दुई सिट भएको गाडीमा हिँड्दा छेउको सिटमा कोही केटा मान्छे परेको छ भने तपाईं कि त उसलाई सिकाउन, ऊसँग झगडा गर्न, नभए आफूले अप्ठ्यारो महशुस गर्न तयार भइहाल्नुपर्छ।

मेरो दिमागमा केटाहरूको बस्ने तरिकाबारे प्रश्न उठ्न थालेको टेम्पोमा हिँड्न थालेदेखि नै हो। त्यसपछि घर, अफिस, चिया पसल, रेष्टुरेन्ट, टिभी कार्यक्रम जताततै उनीहरू कसरी बस्छन् हेर्न थालेँ। कति केटाको बस्ने सोमत थिएन। अरू चैं आफूलाई सजिलो लाग्ने गरी बसिरहेको देख्थेँ।

उनीहरूको बसाइ देखेपछि आफू सधैं खुम्चिएरै बसेको थाहा पाएँ।

याद गर्नुस् त, केटाहरू यसरी बस्छन् मानौं त्यो ठाउँमा उसको अधिकार छ। हामी केटीहरू यसरी बस्छौं मानौं केही गल्ती भइरहेको छ।

यो सानो कुरा हो। तर बसाइको तरिकाले केटा र केटीको सिंगो संसार, जीवन र भोगाइ बताइरहेको हुन्छ।

टेम्पोमा अरू केटीहरूले पनि असहज महशुस गरेको थाहा पाएका बेला मैले आफैंलाई कयौंपटक सोधेकी छु, ‘के यो संसार मेरो हो भनेर हामी केटीहरू हुर्किएका छौं त?’

छैनौं।

हामीले आमाको पेटमा आएदेखि नै ‘छोरी अर्काको घर जाने जात’ भनेर सुनिरहेका हुन्छौं।

आफू संसारमा आउँदा जुन धर्तीमा हाम्रो टाउकोले टेक्छ त्यो हाम्रो हुँदैन। तर मेरो भाइले वा त्यो टेम्पोमा मेरो छेउ बसेको केटाले टेकेको धर्ती उसकै हुन्छ।

कोही केटा जन्मिनेबित्तिकै उसको घर हुन्छ। उसको जमिन हुन्छ। संसारै उसको हुन्छ।

उसलाई आमाको पेटदेखि नै त्यही सुनाइएको हुन्छ, ‘यो संसारै तेरो हो। यहाँ तँलाई फैलिएर बाँच्ने स्वतन्त्रता छ।’

उसकाे हुर्काइ पनि त्यस्तै हुन्छ। ऊ चर्को हाँसोस्, ऊ नाचोस्, गाओस्, रातमा हिँडोस्, त्यो देखेर कसैले ‘कस्तो सोमत नभएको’ भन्दैन।

उसलाई त अझ फोहोरी शब्द बोल्न र बिग्रिनसमेत यो संसारमा छुट छ। ‘केटो मान्छे हो, बोलिहाल्छ नि वा भइहाल्छ नि!’

केटीहरूलाई त्यस्तो कहाँ छ?

स्वतन्त्र भएर बाँच्न यो संसारका केटीहरूले धेरै संघर्ष गर्नुपर्छ। शारीरिक र मानसिक पीडा झेल्नुपर्छ। ती पीडाको तुलनामा ‘छेउ वा अगाडिको केटोले खुट्टा फिँजारेर बसिदिँदा’ हुने अप्ठ्यारो निकै सामान्य हो।

सायद, त्यसैले धेरै केटीहरूले खुट्टा फैलाएर बसेको केटालाई प्रश्नै गर्दैनन्। ‘तिमी त्यसरी खुट्टा फिँजाएर बस्दा मलाई अप्ठ्यारो-असहज भयो’ भन्दैनन्। उसका खुट्टा आफ्नासँग जानाजान ढेसिँदा पनि सार्वजनिक सवारीको बाध्यता मानेर चुपचाप बस्छन्।

तर केटीहरू कहिलेसम्म मौन रहलान्?

केटाहरूले सार्वजनिक ठाउँमा अरूलाई अप्ठ्यारो हुने गरी शरीर फिँजारेर ‘मलाई यसरी बस्ने छुट छ’ भनेर कहिलेसम्म सोच्न पाउलान्?

वर्षौं-वर्ष?

पक्कै होइन। केही दिनअघि पढेको एउटा खबरले मलाई थोरै भए पनि आशा लागेको छ।

‘केटीहरू खुम्चिएर र केटाहरू फैलिएर बस्ने’ चलन हामीकहाँ मात्र होइन, संसारभर नै छ। यही दबाब झेलेकी बेलायतको ‘ब्ह्राइटन विश्वविद्यालय’ पढ्ने एक छात्राले ‘फैलिने केटाहरू’का लागि ‘उपहार’ बनाइदिन्।

लैला लरेल नामकी ती डिजाइनर छात्राले यस्तो कुर्सी बनाएकी छन्, जसमा केटाहरूले खुट्टा फैलाउनै सक्दैनन्। कुर्सीको बस्ने फलेकका छेउछेउमा काठका टुक्रा अगाडिपट्टि कम खुला हुने गरी राखिएको छ।

यो कुर्सीमा बस्दा केटाहरूका खुट्टा स्वतः जोडिन्छन्।

लैलाले यो कुर्सीलाई नाम पनि दिएकी छन्, ‘फैलिएर बस्ने केटाहरूको समाधान’।

उनको यो डिजाइनले ‘बेलमोन्ड अवार्ड’ पनि पायो। लैलाले केटीहरूका लागि पनि कुर्सी डिजाइन गरेकी छन् जसमा उनीहरू अलि सहज गरी बस्न सक्छन्।

यहाँ मैले सबैलाई यस्तै कुर्सी चाहिन्छ भन्न खोजेकी होइन। लैलाको यो डिजाइनले अवार्ड पाउनु भनेको केटाहरू फिँजारिएर बस्नु साँच्चै कत्ति ठूलो समस्या हो भन्ने बुझाउन खोजेकी हुँ। यस्तो समस्या जसको समाधानको सांकेतिक आइडियाको संसारभर चर्चा हुन्छ।

सार्वजनिक ठाउँ होस् वा यातायात, घर होस् वा वन, अरू कसैलाई शारीरिक रूपमै अप्ठ्यारो हुने गरी बस्नु केटा र केटी दुवैले हुँदैन।

हामी केटीहरूले त यही सिक्दै आएका छौं, गर्दै आएका छौं।

केटाहरूले कहिले बुझ्ने?

Leave a Reply

Your email address will not be published. Required fields are marked *