पत्रपत्रिका रोचक

ज्ञानेन्द्र शाहको सन्देश : सम्मोहन, सन्देह र सन्त्रास

मुमाराम खनाल

संस्थागत संस्मरण नभएको संस्थाको इतिहास केही वर्षपछि लोप हुन्छ।

परिवार, समाज तथा अन्य कुनै पनि संस्थाको हकमा पनि यही हो। राज्य सबैभन्दा ठूलो र व्यवस्थित संस्था हो। त्यसैले राज्यको सवालमा पनि यही कुरा लागू हुन्छ।

फरक यत्ति हो, हरेक परिवारका व्यक्तिव्यक्तिको संस्मरण मुलुकको इतिहासले सम्झदैन। संझेर साध्य पनि हुँदैन। मात्र मुलुकमा भएका खासखास घटनालाई इतिहासले संस्मरण गर्छ र संस्थागत अभिलेख गरिन्छ।

यही इतिहास चेतले हाम्रो वर्तमान निर्माण हुने हो। इतिहासका राम्रा नराम्रा घटनाबाट पाठ सिक्ने हो। सजग र सहज वर्तमानको निर्माणमा इतिहासको ठूलो महत्त्व हुन्छ।

तर हामीकहाँ राजनीति र इतिहासको संस्थागत संस्मरण ज्यादै कमजोर छ। त्यसैले यसको उपयोग गरेर विगतका गल्तीबाट पाठ सिक्ने नेतृत्व पाउन हामीलाई दुर्लभ छ। इतिहास चेत नभएको राजनीतिक नेतृत्वले इतिहासमा भएका जस्तै गल्तीमाथि गल्तीहरु थप्दै जान्छ।

आफ्नै अगाडि भएको एक दुई दशकअगाडिको घटनाबाट समेत कुनै पाठ नसिक्ने राजनैतिक नेतृत्वले अरुलाई भने इतिहासको पाठ पढाइरहेको हुन्छ र हामी सुनिरहेका हुन्छौं । यस्तो लाग्छ, यो मुलुकका नागरिकलाई भन्दा बढी दु:ख उनीहरुका कानलाई छ।

भर्खरै पूर्व राजा ज्ञानेन्द्र शाहले सन्देशको संग्रह सार्वजनिक गरेका छन्। यो उनको निजी मामिला हो। तर ‘ठूला मान्छे’ का निजी मामिला पनि नितान्त निजी रहँदैनन्। इतिहासमा दुई पटक राजा भएर अझै राजा बन्न इच्छुक ज्ञानेन्द्र शाहको सन्देशमा कति राजनीति घुलमिल रहेको छ वा छैन भन्ने कुरा मेरो आलेखको सवाल होइन। न त उनको सन्देश संग्रहको कुनै लेखाजोखा गर्ने मेरो अभीष्ट हो।

गणतन्त्रको अनुवाद लुटतन्त्रमा अभिव्यक्त हुँदै जाँदा स-साना घटनाहरुले कस्तो विराट रुप धारण गर्छन् भन्ने कुराको स्मरण गराउनु मेरो आलेखको अभीष्ट हो। समाजमा हुने साना साना घटनाका संकेतहरुले समाजको बदलिँदो चरित्रलाई अभिव्यक्त गर्छन्। मुलुकको राजनैतिक, आर्थिक र सामाजिक दिशा बुझ्न र त्यसको संकेतलाई पर्गेल्न सक्ने बन्नु नै समाजको नेतृत्व गर्नु हो। यस्तै संकेतलाई समातेर नेतृत्वले स्पष्ट राजनीतिक दिशासहितको योजना बनाउँछन्। त्यसैले हो- राजनीतिज्ञलाई समाजको अगुवा भनेको।

तर सामान्य इतिहास चेतसमेत नभएको राजनीतिक नेतृत्वमा भविष्यको चेत हुने कुरै हुँदैन। किनकि भविष्य चेतको गर्भाधान इतिहास चेतको मर्ममा अन्तरनिहित हुन्छ। सायद यसैले होला- नेपालमा ‘जो अगुवा, उही बाटो …’ भन्ने उखान प्रचलित छ।

एकछिन एउटा छोटो इतिहासको स्मरणतिर फर्कौ :

आजभन्दा करिब २० वर्षअगाडि मोहन निरौलालगायत केही कलाकारलाई सम्मान गर्न भनेर धीरेन्द्र शाहको उपस्थितिमा एउटा कार्यक्रम आयोजना गरिएको थियो। र, उक्त कार्यक्रममा निरौलालगायत वक्ताहरुले तात्कालिक व्यवस्थाको निकै आलोचना गरेका थिए। कलाकार निरौलाले आफू नेताहरुलाई गोली ठोक्नसमेत तयार रहेको बताएका थिए। अहिलेको गणतन्त्रमा जस्तै त्यतिबेलाको प्रजातन्त्रमा पनि लुटतन्त्र चलिरहेको थियो। अहिले जस्तै मुख्य नेताहरु बदनाम भइरहेका थिए।

त्यसको प्रतिक्रिया राजनीतिक वृत्तमा धेरै दिनसम्म भइरह्यो। निरौलालाई गिरफ्तार गर्ने तात्कालीन गृहमन्त्रीको निर्देशन आयो। धीरेन्द्र शाहको उपस्थिति रहेको उक्त कार्यक्रमको पुग नपुग एक वर्षपछि दरबार हत्याकाण्डमा धीरेन्द्र शाह लगायत राजा वीरेन्द्रको सम्पूर्ण वंशनाश भयो। त्यति सानो घटनाको गर्भमा हुर्किदै गरेको राजनीतिले संयोग वा कर्मद्वारा ज्ञानेन्द्र शाहलाई राजा बन्ने अवसर प्रदान गर्यो।

इतिहासको पुनरावृत्ति केही फरक तर उस्तै संकेतसहित हुने गर्छन्। गणतन्त्र लुटतन्त्रमा रुपान्तर हुँदै गर्दा शासक दलका नेतृत्वमा भने इतिहास चेतको लेश मात्रा पनि देखिन्न।

ज्ञानेन्द्र शाहका पछिल्ला केही अभिव्यक्ति, भेटघाट र सन्देश संग्रह सार्वजनिक भएपछि राजनीतिक वृत्त आवश्यकताभन्दा बढी प्रतिक्रियात्मक रह्यो। स्वाभाविक रुपमा यस्तो प्रतिक्रियाको प्रभाव पनि सत्तारुढ दलमा बढी देखियो। पूर्वराजाका ताजा गतिविधिहरुप्रति उत्साहित र आक्रोशित रहेका राजनीतिक तथा नागरिक जगतले आफ्नो उत्साह र आक्रोशको कारणलाई तथ्य र तर्कसंगत ढंगले प्रस्तुत गर्न भने किञ्चित सकेका छैनन्।

सत्तरी वर्षको इतिहासमा ३/३ पटक राजतन्त्रविरुद्ध संघर्ष गरेको मुलुकले अझै पनि राजाको ससानो गतिविधिबाट तर्सिने राजनीतिक वातावरण किन छ ? आफूलाई परिवर्तनको कित्तामा उभ्याएका नेताहरुले किन मुलुक परिवर्तन गर्न सकेनन् ? किन मुलुकका आधारभूत समस्या राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रले समेत समाधान गर्न सकेन ? भन्ने प्रश्नहरुको वरिपरि नेपालको राजनीति र नेतृत्वले विगत ७० बर्षदेखि चक्कर काटिरहेको मात्र छ।

सम्मोहनको सामन्ती प्रवृत्ति

पूर्वराजाका कुनै पनि गतिविधिप्रति नागरिकको निगरानी हुनु स्वाभाविक छ। किनकि २ सय ५० वर्ष लामो राजतन्त्रको इतिहास र त्यसले निर्माण गरेको सामाजिक र साँस्कृतिक प्रभुत्व सानो समय अन्तरालमा समाप्त भइहाल्ने हुँदैन। त्यसैले सामाजिक र साँस्कृतिक जीवनको एउटा तहमा पूर्वराजाप्रतिको सम्मोहन व्याप्त छ। यस्तो सम्मोहनसहितको राजावादी शक्तिले धर्म र राजाको भूमिकालाई अन्योन्याश्रित सम्बन्धको रुपमा हेर्ने गरेको छ।

संसारमा विभिन्न चरित्रका राज्य सत्ता छन्। राज्य सत्ताको चरित्र निर्धारण गर्ने केही आधारभूत अवयवहरु हुन्छन्। कुनै राज्य व्यवस्थाले अँगालेको दर्शन, राजनीति र अर्थनीतिले उक्त राज्य सत्ताको चरित्र निर्माण गर्छ। राज्य सत्ता लोकतान्त्रिक, सामन्ति, समाजवादी आदि हुनुमा यिनै आधारभूत अवयवहरुको चरित्रमा निर्भर हुन्छ। र, प्रत्येक राज्यसत्ताले निश्चित विचार, सँस्कृति र वर्गको वकालत गर्छ।

राजतन्त्र सामन्ती व्यवस्थामा बाँच्ने संस्था हो। त्यसैले राजतन्त्र पिछडिएको सामन्ती उत्पादन प्रणालीमा मात्र हुर्किदै र मौलाउँदै जाने व्यवस्था हो। नेपालमा सामन्ती उत्पादन प्रणालीमा केही फेरबदल हुनासाथ राजतन्त्र हुर्किने वातावरण कमजोर हुँदै गएकाले राजतन्त्र समाप्त भएको हो।

राजतन्त्र राख्नु वा फाल्नु एउटा राजनीतिक दल वा नेताको इच्छा र चाहनाको कुरा मात्र होइन। यदि त्यसो हुन्थ्यो भने अहिलेका निर्णायक दलहरु काँग्रेस र कम्युनिस्टले २००७ सालअघिदेखि नै राजतन्त्र फाल्न चाहन्थे। तर सम्भव भएन। किनकि नेपालको उत्पादन प्रणालीले जन्माएको राजनीतिक वातावरण राजतन्त्रका लागि अनुकूल थियो। त्यसैले राजतन्त्र लामो अवधिसम्म बाँच्यो।

तर्क गर्न सकिन्छ, त्यसो भए कतिपय विकसित मुलुकमा अहिले पनि राजतन्त्र किन जीवितै छन् ? जहाँजहाँ लोकतन्त्र र राजतन्त्र सँगसँगै छन्, त्यहाँ राजतन्त्र कुनै समस्याको विषय होइन। त्यहाँको राजतन्त्र मानार्थ राजतन्त्र मात्र हो। सत्ताको चरित्र लोकतान्त्रिक हो, राजतन्त्रात्मक होइन।

नेपालमा पनि यदि लोकतान्त्रिक सत्ता र मानार्थ राजतन्त्र सँगैसँगै जान सक्ने भए ठूलो विवादको विषय हुँदैनथ्यो। तर सम्भव छैन। यसलाई बुझ्न नेपालमा ३/३ पटक परीक्षणमा रहेको संवैधानिक राजतन्त्र सक्रिय राजतन्त्रमा किन रुपान्तरण भयो भनेर बुझ्न जरुरी छ। किनकि नेपालमा राजतन्त्रको प्रसंग आउनेवबित्तिकै सक्रिय राजतन्त्रको चरित्रमा रुपान्तर भइहाल्छ। यहाँको उत्पादन प्रणाली र राज्यका औजारले मानार्थ राजतन्त्रलाई अनुशासनमा राख्न कतापि सक्दैन।

त्यसैले घोषित रुपमा सामन्ती उत्पादन सम्बन्धबाट निसृत राज्यसत्ताको पक्षपोषण गर्ने दलहरुमा राजतन्त्रप्रति अहिले पनि सम्मोहन छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (संयुक्त), शिवसेना जस्ता ससाना दलहरुले अहिले पनि औपचारिक रुपमा राजतन्त्रको वकालत गर्छन्। तर उनीहरुको आधार दिनप्रतिदिन कमजोर बन्दैछ। किनकि उनीहरुको राजतन्त्र सम्मोहनको आर्थिक र सामाजिक आधार कमजोर छ।

वर्तमान सत्ताधारी र प्रतिपक्षी दलहरुभित्र रहेका केही नेताहरुमा पनि राजतन्त्रप्रति सम्मोहन देखिन्छ। तर सम्मोहनका कारण भने नेतैपिच्छे फरक छन्। कतिपयले सैद्धान्तिक र भूराजनीतिक कारणले साँच्चै नेपालमा राजतन्त्रको आवश्यकता देखेर, कतिपयले नेतृत्वसँग असन्तुष्ट भएर र कतिपयले विगतमा राजतन्त्रसँग जोडिएको फाइदाजनक विरासतबाट राजावादी सम्मोहनलाई जीवित राखेका छन्।

पूर्व राजाले पनि इतिहासतिर फर्केर हेर्दा हुन्छ। दलहरुले भन्दा उनकै अप्राकृतिक हर्कतले नेपालमा गणतन्त्र आएको हो। इतिहासलाई अगाडि बढ्न दिनुपर्छ। किनकि इतिहास निर्मम हुन्छ, उसले नेताले जस्तो राजा र जनतालाई अलगअलग व्यवहार गर्दैन।

अर्कोतिर, अहिले आफ्नो पहिचान स्थापित गर्न नसकेको सानो बौद्धिक जमातमा पनि राजतन्त्रको सम्मोहन जागेको छ। तर यसको सम्मोहन नितान्त निजी अवसरवादबाट निसृत छ। नेपालको परिवर्तनमुखी आन्दोलनमा निरपेक्ष भूमिकामा रहेको यस्तो जमातले राजनीतिमा ‘स्पेस’ खोजेको छ। तर कथित रुपमा ठूला भनिएका राजनीतिक दलहरुले उनीहरुलाई उचित स्थान दिन अस्वीकार गरेपछि उत्पन्न कुण्ठाबाट राजतन्त्रको वकालत गर्ने गरेका छन्।

यो जमात राजतन्त्रप्रतिको सम्मोहनबाट आफ्नो परिचय स्थापित गर्न चाहन्छ। केही नेताहरुले गणतन्त्रलाई लुटतन्त्रमा रुपान्तरण गरेपछि व्यक्तिगत महत्त्वाकांक्षा बोकेको र पहिचानको संकटबाट गुज्रिएको यस्तो जमातले पूर्वराजाको फेरो समाएर र वर्तमान असन्तुष्टिलाई भजाएर नेपालको राजनीतिमा स्थापित हुन सकिन्छ भन्ने मान्यता बोकेको छ।

यस्तो जमात नेपाली समाज प्रतिगामी दिशातिर होइन, अझ गहिरो र प्रत्यक्ष लोकतन्त्रतर्फ जान्छ भन्ने सहज ज्ञानको विरुद्ध छ। यसले समाजको निरासालाई समातेर अलिकति चर्चा त बटुल्छ। तर समाज परिवर्तनको लामो र अग्रगामी बाटो पहिल्याउने धैर्य र रुचि दुवै राख्दैन।

सन्देह र सन्त्रासको सत्तावादी प्रवृत्ति

ज्ञानेन्द्र शाहका गतिविधिलाई शंकास्पद सन्देहको कोणबाट हेर्ने जमात पनि मुलुकमा उल्लेख्य छ। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग तादाम्य गरेर पूर्वराजाका गतिविधिलाई नियाल्ने र विश्लेषण गर्ने जमात यस कोटीमा पर्छ।

खास गरी विभिन्न विदेशी शक्ति केन्द्रहरुको स्वार्थ, राजनीतिक दलहरुको सत्ता संघर्ष र प्रभुत्वशाली राजनैतिक वा सामाजिक व्यक्तित्वहरुको राजनैतिक शक्ति आर्जन गर्ने लालसामा पूर्वराजाको उपयोग हुन सक्छ भन्ने सन्देह यो जमातमा व्याप्त छ।

विगतमा संवैधानिक राजतन्त्रअन्तर्गत बहुदलीय प्रजातन्त्रले जनताका आधारभूत समस्या समाधान गर्न नसक्दा नागरिक असन्तुष्टि बढ्दै गयो। त्यसको फाइदा उठाउँदै माओवादीको हिंसात्मक आन्दोलन आरम्भ भयो। र, उक्त आन्दोलन बढ्दै जाँदा त्यसको आवरणमा विभिन्न शक्ति केन्द्रहरुसमेत जोडिँदै गए। अन्ततः माओवादी आन्दोलनको अन्त्यका नाममा राजतन्त्र सक्रिय बनेर आयो। वर्तमान नेतृत्वले इतिहासको पाठ सिक्न चाहेको देखिन्न।

अहिले पनि राजनैतिक परिघटनाको पुनरावृत्ति उस्तै किसिमले विकसित बनिरहेको देखिन्छ। वामपन्थीको बदनाम र असफल सरकार, कमजोर र अविश्वसनीय प्रतिपक्ष, नेत्र चन्दको हिंसात्मक आन्दोदन, नागरिकको चरम निराशा आदि घटना नियालेर हेर्ने हो भने परिस्थिति नकारात्मक दिशातिर गइरहेको छ।

नागरिकको यही निराशा र असन्तोषलाई भजाएर शक्ति आर्जन गर्न खोज्ने अनेक समूहहरु मैदानमा देखा पर्नु अस्वाभाविक होइन। पूर्वराजा पनि यसमा अपवाद छैनन्। र, राजनीति र लोकतन्त्रलाईे अग्रगामी दिशा प्रदान गर्न चाहने शक्तिहरु वास्तवमै सत्ताधारी र पूर्वराजाका गतिविधिलाई सन्देहपूर्ण आँखाले हेरिरहेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले सास फेर्दासमेत थर्कमान हुने पुष्पकमल दाहाल, गणतन्त्र र यसका नेताहरुले बुझ्नु पर्दछ- सामन्ती उत्पादन प्रणालीमा हुर्किने गणतन्त्र र त्यसका नेताहरु पनि राजतन्त्र जस्तै अनुदार, अलोकतान्त्रिक र अधिनायकवादी हुन्छन्।

ज्ञानेन्द्र शाहका धार्मिक, सामाजिक र राजनीतिक प्रकृतिका हरेक गतिविधिमा आक्रोशित बन्ने राजनीतिक शक्ति पनि छ। शाहले कुनै सानो गतिविधि गर्ने वित्तिकै आक्रोशित, आक्रामक र प्रतिक्रियात्मक रहने यो समूहमा सत्ताधारी राजनैतिक दलका प्रभावशाली नेताहरु पर्छन्। वा वर्तमान सत्ताबाट सर्वाधिक लाभान्वित रहेका मुख्य दलका शीर्ष नेताहरु पर्छन्। त्यसको साथै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सक्रिय भूमिका खेलेका नागरिक समूह पनि यस कोटीमा पर्छ।

सत्तामा हुँदा भ्रष्टाचार गर्ने, सत्ताको चरम दुरुपयोग गर्ने र कुनै पनि परिणाम निकाल्न नसक्ने वर्तमान राजनैतिक नेतृत्व असफल भइसकेको छ। यसले आफ्नो असफलतालाई लुकाउनका लागि निमित्तिक कारणलाई प्रमुख कारण बनाएर देखाइरहेको छ। गणतन्त्र र संघियतालाई अन्तर्वस्तुमा प्रहार गर्दै आवरणलाई मात्र आत्मसात गरिरहेको छ। यसले दिनप्रतिदिन नागरिकको निरासालाई बढाइरहेको छ। त्यसकारण सामान्य घटनाप्रति समेत सत्ताधारी शक्ति प्रतिक्रियात्मक छ। जस्तै, ज्ञानेन्द्र शाहप्रति प्रचण्डको आक्रोश आफ्नै असफलताको प्रतिक्रिया मात्र हो।

पूर्वराजा ज्ञानेन्द्र शाहले सास फेर्दासमेत थर्कमान हुने पुष्पकमल दाहाल, गणतन्त्र र यसका नेताहरुले बुझ्नुपर्दछ- सामन्ती उत्पादन प्रणालीमा हुर्किने गणतन्त्र र त्यसका नेताहरु पनि राजतन्त्र जस्तै अनुदार, अलोकतान्त्रिक र अधिनायकवादी हुन्छन्। त्यसकारण उत्पादन सम्बन्धलाई फेर्नुपर्यो। या त आफैँले निर्माण गरेको फेरि पूर्वराजा आउने राजनीतिक वातावरणलाई स्वागत गर्नुपर्यो।

लुटतन्त्रको दोहोरो मापदण्डले गणतन्त्र जीवित रहँदैन। सधैंभरि कमजोर पात्रलाई शत्रु देखाएर आफ्नो आयु लम्ब्याउँन सम्भव हुन्न। सामन्ती उत्पादन प्रणालीमै रमाएर बाँच्ने हो भने गणतन्त्र भन्दा कैयौं गुना प्राकृतिक राजतन्त्र नै हुन्छ।

वाम नेताहरुले गणतन्त्रको मर्मलाई आत्मसात् गरेर परिणाम दिन नसकेपछि अरुलाई दोष दिएर आफ्ना अपराधहरु लुकाउने कर्म बन्द गर्नुपर्छ। सत्ताधारीहरुको आफ्नै भ्रष्ट र अक्षमताले यस्तो परिस्थिति उत्पन्न भएको हो। अन्यथा नेपालमा पुनः राजा आउने कुनै राजनीतिक वातावरण छैन।

यदि अवाञ्छित बाटोबाट राजतन्त्र पुनस्र्थापित हुने हो भने पूर्वराजाले पनि इतिहासतिर फर्केर हेर्दा हुन्छ। दलहरुले भन्दा उनकै अप्राकृतिक हर्कतले नेपालमा गणतन्त्र आएको हो। इतिहासलाई अगाडि बढ्न दिनुपर्छ। किनकि इतिहास निर्मम हुन्छ, उसले नेताले जस्तो राजा र जनतालाई अलगअलग व्यवहार गर्दैन।

-नेपाल समयबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *