पत्रपत्रिका समाचार

विप्लवलाइ जहिले पनि सम्झिरहन्छु, नेकपालाइ दमन गरेर हुदैन वार्ता गर्नुपर्दछ : लेखराज भट्ट

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्।

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे।

‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो। हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुन्थ्यो। साविकको एमालेमा मैले त्यो देखिन’, उनले भने, ‘केन्द्रीत नहुँदा समस्या आउँछ। त्यो समस्याले एकतालाई ढिला गरिरहेको छ तलैसम्म।’

‘साविक एमालेमा स्थायी प्यानल, नेतागत गुट छन्। कसको पर्यो भागमा, को कति पर्यो भन्ने छ। त्यसले एकतालाई तन्काएको हो कि?’ नेता भट्टले प्रश्न गरे।

साविक माओवादीमा जतिसुकै विवाद भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुनेगरेको तथ्य प्रस्तुत गर्दै उनले थपे, ‘यता (एमाले) केन्द्रीत भएको देख्दिन्। कसले के राख्ने अध्यक्षमा केन्द्रीत हुनुपर्ने हो, तर त्यसो भइरहेको छैन। त्यसले केही समस्या पैदा भएको छ। एकता प्रक्रियालाई पनि लम्ब्याएको छ।’

अहिले पार्टीमा साविक माओवादीले कति लिने, एमालेले कति लिने, को ले लिने भन्ने समस्या देखिएको र त्यो विवाद स्कुल विभागमा छताछुल्ल भएको बताउँदै भट्टले अगाडि भने, ‘स्कुल विभागमा प्रतिस्पर्धा भएको छ। को सक्षम छ, कसको आवश्यकता हो? छलफल र बहसबाट सामूहिक निर्णय लिनुपर्नेमा अलि तानातान भएको छ।’

नेता भट्टले स्कुलिङमात्र नभई अन्य विभागमा पनि कुरा नमिल्दा एकता लम्बिएको स्वीकार गरे। ‘तीन महिनामा मिल्ने भनेको एकता अहिले डेढ वर्षसम्म पनि पुरा भएन। किन भएन भनेर समीक्षा गर्नैपर्छ।’ नेता भट्टले आफूहरु हिजोको सिद्धान्त र व्यवहारमा नहिँडेको र बाटो विराएको पनि स्वीकार गरे।

पार्टी एकताको काम नटुंगिँदा तथा सामूहिक निर्णय नहुँदा सरकारका निर्णयहरु विवादमा परेको उनको भनाई छ।

‘विप्लवलाई सम्झिरहन्छु’

नेता भट्टले आफूले पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लवलाई अहिले पनि सम्झिरहने बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेतीमहाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ। अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के हो? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’

‘कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्छ’

नेता भट्टले कुमार पौडेलको हत्*या हो कि इन्काउन्टर छानविन हुनुपर्ने बताए। ‘त्यो घटना हुनुहुन्थेन। ह*त्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ। वार्तामा जानुपर्छ।’

नेता भट्टले विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले नसके विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्ने माग गरे। ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि दमन, धरपकड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, भट्टले भने। -rajaneeti.com

000

यो पनि पढ्नुहोस

जनवादी केन्द्रीयता कि नेताको तानाशाही ?

प्रभुनारायण बस्‍नेत

कम्युनिस्टहरूले संगठनात्मक सिद्धान्तलाई सिंहावलोकन गर्न, पार्टी स्वरूपलाई नयाँ ढंगले परिभाषित गर्न र औचित्यहीन पेचकिला फेर्न ढिलो भइसकेको छ।

जनवादी केन्द्रीयता कम्युनिस्ट पार्टी सञ्चालन गर्ने विधि हो। यो कम्युनिस्टहरूले मान्दै आएको लेनिनवादी संगठनात्मक सिद्धान्तको महत्त्वपूर्ण अंग हो। यस विधिलाई स्वीकार नगर्ने कोही पनि कम्युनिस्ट हुन सक्दैन। संसारभरिकै कम्युनिस्टहरू यसलाई मूलमन्त्रका रूपमा स्वीकार गर्छन्। यता आएर यो विधि पनि विवादको घेरामा परेको छ। जनवादी केन्द्रीयतालाई नेतृत्वको अधिनायकवाद लाद्ने उपक्रमका रूपमा लिन थालिएको छ। अधिकार र कर्तव्यको अपूर्व संयोजन रहने व्यवस्था रहेकाले जनवादी केन्द्रीयता वैज्ञानिक संगठनात्मक सिद्धान्तमा आधारित छ भन्ने दाबी गर्ने कम्युनिस्टहरू नै विस्तारै यसको औचित्यमाथि औंला उठाउँदै छन्। यसका केही बनिबनाउ मान्यता नै कम्युनिस्ट पार्टीलाई गैरलोकतान्त्रिक कित्तामा धकेल्न जिम्मेवार रहेको कम्युनिस्ट कार्यकर्ता नै स्वीकार गर्न थालेका छन्।

अहिले विश्वको राजनीतिक रंगमञ्चबाट कम्युनिस्ट आन्दोलन लोप हुने क्रममा छ। एक जमानामा यो दुनियाँको जाज्वल्यमान र शक्तिशाली आन्दोलन थियो। विकसित पुुँजीवादी मुलुकमा समाजवादी क्रान्ति सफल हुन्छ भन्ने मान्यता यसका जन्मदाता स्वयं माक्र्सको थियो। उनको दाबी बेलायत, जर्मनी आदि मुलुकमा पहिले कम्युनिस्ट क्रान्ति हुन्छ भन्ने थियो। तर राजनीतिको गति कसरी अघि बढ्छ भन्न सकिँदैन रहेछ। माक्र्सको दाबीविपरीत युरोपको तुलनात्मक रूपमा कम विकसित अवस्थामा रहेको रूसमा पहिलो समाजवादी क्रान्ति पूरा भयो। त्यही समाजवादी क्रान्तिका नायक भीआई लेनिनले कम्युनिस्ट पार्टीको सिद्धान्त प्रतिपादन गरेका हुन्। यसअन्तर्गत रहेको जनवादी केन्द्रीयता सबभन्दा बढी विवादित रहँदै आएको छ।

लेनिनले अघि सारेको कम्युनिस्ट पार्टीको संगठनात्मक सिद्धान्तले रूसी कम्युनिस्टहरूलाई नराम्ररी विभाजितसमेत गरायो। लेनिनले कम्युनिस्ट पार्टीको सदस्यता लिने व्यक्ति कुनै न कुनै समितिमा आबद्ध रहेर पार्टी जिम्मेवारी बहन गर्नुपर्छ र पार्टीले तोकेको शुल्क बुझाउनुपर्छ भन्ने मत राखे भने उनका पार्टीभित्रका प्रतिद्वन्द्वी मार्तोव र मार्तिनोवले भने पार्टीका प्रत्येक सदस्यलाई कमिटेड गर्नुभन्दा आवश्यक पर्दा सहयोग दिन सक्नेलाई सदस्यता प्रदान गर्नु उपयुक्त हुने विकल्प अघि सारे।

लेनिनको विचार पार्टी सदस्यता खुलारूपले वितरण नगर्ने थियो भने उनका विरोधी पार्टीलाई लचिलो ढाँचामा अगाडि बढाउन चाहन्थे। त्यही विवादमा पार्टीभित्र मतदान हुँदा लेनिन सुरुमा अल्पमतमा परे। तर उनले आफ्नो मतलाई विजयी गराउने प्रयासलाई जारी राखे। अन्ततः पार्टीको बहुमतले लेनिनको लाइनलाई स्वीकार गर्‍यो। त्यही विवादले रूसी पार्टी बहुमत र अल्पमतमा विभाजित भयो। रूसी भाषामा बहुमतलाई बोल्सेभिक र अल्पमतलाई मेन्सेभिक भनिन्छ। लेनिनले बहुमत हासिल गरेपछि उनको पार्टी बोल्सेभिक भनेर संसारभरि प्रसिद्ध भयो। बोल्सेभिक र मेन्सेभिक दुई छुट्टाछुट्टै कम्युनिस्ट पार्टी बने।

लेनिनले परिकल्पना गरे झैं उनको संगठनात्मक सिद्धान्त उनकै जीवनकालमा पनि लागू भएन। यो पद्धति संसारमा कहींकतै सहीरूपले प्रयोग भएको छैन। नेपालमा त झन् त्यसको एक अंश पनि प्रयोग भएन। अहिले नेपालको सत्तासीन नेकपा पार्टी अध्यक्ष केपी ओली र प्रचण्डको मर्जीले चल्छ, जनवादी केन्द्रीयताले होइन। लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार कम्युनिस्ट पार्टी जनआधारित र लोकप्रिय दल थिएन। कम्युनिस्ट पार्टीलाई जनआधारित (मास बेस्ड) बनाउनुको सट्टा कार्यकर्तामा आधारित (क्याडर बेस्ड) ढाँचामा निर्माण गरियो। उनले कम्युनिस्ट पार्टीलाई जनताको रक्षा दल (भ्यान गार्ड अफ पिपल्स) बताएका थिए। त्यसको अर्थ जनताबाट अलगथलग र तिनको रक्षा गर्ने संस्था भन्ने हुन्छ। जनताकै बीचबाट जन्मिएको र जनताकै सहभागिता रहेको पार्टीका रूपमा त्यसलाई परिभाषित नगर्नुको परिणाम पछिल्ला दिनहरूमा देखिँदै गयो। त्यसले जनताका नाममा जनतामाथि नै ज्यादती गर्ने, जनताका अधिकार खोस्ने र तिनलाई पराधीन दासको जस्तो व्यवहार गर्ने कार्य गर्न थाल्यो। गाँस, वास र कपासको नारा लगाएर जनताका जन्मसिद्ध र मौलिक अधिकार खोस्न कम्युनिस्ट शासन भएका मुलुकका शासकहरू अग्रसर भए।

जनवादी केन्द्रीयता जुन उद्देश्यका साथ ल्याइएको व्यवस्था हो, अब त्यो त्यही रूपमा बुझ्ने र लागू गर्ने अवस्था छैन र नयाँ रूपमा यसको भाष्य निर्माण गरेर पनि यसले कुनै पार्टी आन्दोलनलाई सञ्चालन गर्न सकिँदैन।

पवित्र उद्देश्य लिएर क्रान्तिमा होमिने र क्रान्ति सफल पारेर सत्ता हत्याउने नेताकै जीवनकालमा जनतालाई धोका दिने, तिनका अधिकार खोस्ने काम भयो। लेनिन, माओत्से तुङ, होचि मिन्ह, किम इल सुङले आफ्नो कार्यकालमा सकेसम्म जनताको विपक्षमा काम नहोस् भन्ने होसियारी राख्नु स्वाभाविक हो। तर गलत ढंगले निर्माण गरिएको पार्टी र शासन सत्तामा पार्टीको एकछत्र वर्चस्व स्थापित भएका कारण स्वयं लेनिन र माओसमेत लाचार बन्नुपर्‍यो। पार्टीभित्रको बहुमतविरुद्ध बोल्न निषेध गरेका कारण सही विचार भएका अल्पमतमा पर्ने नेता­–कार्यकर्ता विवशताको सिकार बनिरहे। जनवादी केन्द्रीयता नामको सिद्धान्तको परिभाषा यति खतरनाक ढंगबाट गरियो कि अल्पमतमा पर्ने नेताकार्यकर्ताको वाणी नै खोसियो।

सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीको सूत्र निर्माण गरेर तिनलाई पार्टीका अरू फोरम, कार्यकर्ता र जनताका बीचमा आफ्ना विचार राख्नबाट वञ्चित गरियो। बैठकले गरेका प्रत्येक निर्णय चाहे गलतै किन नहोऊन्, सदस्यहरूले मान्नैपर्ने, पालना गर्नैपर्ने बाध्यता सिर्जना गरियो। पार्टीभित्र अल्पमत बहुमतको अधीनस्थ, तल्ला कमिटी माथिल्लो कमिटीको अधीनस्थ, सबै संगठन केन्द्रीय कमिटीको अधीनस्थ भन्ने लेनिनवादी सिद्धान्तको जनवादी केन्द्रीयताले अल्पमत र तल्ला कमिटीहरूलाई निर्जीव यन्त्रका रूपमा परिणत गराइदियो। जनताका बीचमा गएर काम गर्ने, शक्तिको चलखेल गर्न नसक्ने इमानदार, निष्ठावान् र प्रतिबद्ध कार्यकर्ता एकपछि अर्को गर्दै अल्पमतमा पर्न थाले। अल्पमतमा पर्नासाथ तिनले बहुमतका नाममा स्वेच्छाचारी र विवेकहीन नेतृत्वको शासनलाई स्वीकार गर्न बाध्य हुनुपर्‍यो। आफ्नो मत निर्भीक रूपमा राख्ने, बहुमत पक्षधर नेतासँग असहमति जाहेर गर्न सक्नेहरू अनेक उपाय गरेर पन्छाइए। कतिको हत्या भयो, कतिलाई निर्वासित हुन बाध्य पारियो। यसरी जनवादी केन्द्रीयता बहुमत र केन्द्रीय कमिटीको डरलाग्दो तानाशाही कायम गर्ने अखडामा परिणत गरियो। हुँदाहुँदा केन्द्रीय कमिटीको नाममा पोलिटब्युरो र पोलिटब्युरोको नाममा महासचिव वा अध्यक्षले स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गर्ने वातावरण बन्यो। कम्युनिस्ट पार्टीलाई फलामे अनुशासन भएको पार्टी भनियो। यसलाई नेताले कडा र चुनौतीहीन छवि बनाउन प्रयोग गरे। परिणामस्वरूप कम्युनिस्टपार्टी जीवन्त र क्रियाशील बन्न छाडेर आदेश दिने र आदेश शिरोपर गर्नेहरूको अखडा बन्यो।

कम्युनिस्ट पार्टीलाई राजनीतिक निर्णयका आधारमा चल्ने, स्वस्थ बहस र छलफलद्वारा निष्कर्षमा पुग्ने सिद्धान्त, आदर्श र नीति कार्यक्रमको आलोकमा हिँड्ने दल नमानेर फौजी शैलीको आदेशमा चल्ने समूहको रूपमा स्थापित गरियो। यसका कार्यशैली, गतिविधि, व्यवहार, क्रियाकलाप केही पनि स्वाभाविक र सहज बनेनन्। प्रत्येक सदस्यको नामको अगाडि कमरेड जोड्ने, लालसलाम, अभिवादन भनेर अस्वाभाविक क्रियाकलाप देखाउने गरियो। त्यति गरेपछि जस्तोसुकै दुष्कर्म पनि क्षम्य हुन थाल्यो। आडम्बर, अहंकार र ढोंग गर्न नसक्नेहरूका लागि कम्युनिस्ट भनिने पार्टी अनूकूल बन्न छाड्यो। यस्ता क्रियाकलापबाट वाक्कदिक्क बनेका तर बाध्यताले सबै स्वीकार गरिरहनुपर्नेहरू नै कम्युनिस्ट सत्ता पतनको कारण बन्न पुगे। सोभियत युनियनको विघटन, पूर्वीयुरोपका साम्यवादी मुलुकहरूको पतन, चीनमा पुुँजीवादी अधिनायकवादी सत्ता स्थापनामा पनि लेनिनवादी संगठनात्मक सिद्धान्त, जनवादी केन्द्रीयता जिम्मेवार छ।

कतिसम्म भने बहुमत रहेका कमिटीहरूले आफूसँग असहमत हुनेहरूलाई तुच्छ, अराजनीतिक व्यवहार गर्दा पनि त्यसलाई बहुमतको स्वाभाविक प्रक्रिया ठानियो। यसले पार्टीलाई अकल्पनीय रूपमा केन्द्रीकरणको प्रक्रियामा लग्यो। पार्टी केन्द्रलाई स्वेच्छाचारी बनाउन, केन्द्रका कमजोरी औंल्याउनेप्रति असहिष्णु व्यवहार गर्न असीमित अधिकार प्रदान गर्‍यो। कोपभाजनको सिकार बन्ने डरले मातहतका कमिटीहरू केन्द्रका गलत निर्णय र कामकारबाहीप्रति मौन रहन थाले। कुनै कमिटीले प्रश्न उठाइहाल्यो भने केन्द्रले जुनसुकै बेला त्यसलाई भंग गर्न सक्ने भयो। यसरी पार्टी पंक्तिलाई अधिकारविहीन गराएर केन्द्रलाई शक्तिसम्पन्न गर्दै लगियो। केन्द्रीय कमिटीमा पनि बहुमत, पोलिटब्युरो र पार्टी प्रमुख सबैतिरबाट चुनौतीविहीन र सर्वशक्तिमान बन्ने अवस्था रह्यो। कम्युनिस्ट पार्टी विभाजन र विखण्डनको एउटा प्रमुख कारण त्यही हो। पार्टीभित्र अनावश्यक पेलान, असहमत पक्षलाई नेतृत्वबाट विस्थापन गर्ने षड्यन्त्र आदिले पार्टीहरू विभाजित हुन थाले। कम्युनिस्ट आन्दोलनमा फुुट र विभाजनको शृंखला अटुट चल्नुमा जनवादी केन्द्रीयताको विधिको दुरुपयोग पनि एउटा महत्त्वपूर्ण कारण हो। लेनिनको मृत्युपछि सोभियत युनियन, भारत, चीन, इन्डोनेसियाजस्ता ठूला कम्युनिस्ट पार्टी भएका मुलुकमा यसको प्रभाव चर्को रूपमा प्रकट भयो।

चीनमा कम्युनिस्ट पार्टी सत्तामा पुगेका कारण असहमत पक्षको आवाज कम सुनियो। जुन पक्ष सत्तामा छ, उसैको वर्चस्व कायम हुने भएकाले सानो कुनै समूह अलग भएकै भए पनि त्यो फुुटको औचित्य पुष्टि हुन सक्दैनथ्यो। तर, त्यहाँ पनि कम्युनिस्टकै भाषाका क्यारिरिस्ट र अवसरवादीहरूले शक्तिमा पुग्न अनेक दाउपेच रचेको देखिन्छ। माओकै उत्तराधिकारी ठानिएका लिन प्याआले पार्टी कब्जा गर्न माओकै हत्या गर्न खोजेका थिए। पार्टीभित्र माओ बारम्बार अल्पमतमा परेका कारण नै युवालाई आह्वान गरेर उनले सांस्कृतिक क्रान्तिको घोषणा गरे। यो क्रम चीनको कम्युनिस्ट पार्टीको स्थापनादेखि आजपर्यन्त जारी छ। लंगमार्चको बेला पार्टीका अर्का वरिष्ठतम नेता चाङको थाओले माओको हत्या गरेर पार्टी नै कब्जा गर्ने प्रयास गरेका थिए। जनवादी केन्द्रीयताकै नाममा लिलिसान, छन् त्य स्योहरूले पार्टी सञ्चालन गर्दा सिंगो पार्टीलाई गलत भड्कावमा जाकेका थिए। इन्डोनेसियामा महासचिव डीएन अडिटको सत्तामोहले तीस लाख कम्युनिस्टको हत्या गरायो। यो पनि जनवादी केन्द्रीयताको नेतातन्त्रकै परिणाम थियो। आज पनि भारतमा दर्जनौं कम्युनिस्ट पार्टी अस्तित्वमा छन्।

विगतमा नरमपन्थी र गरमपन्थीहरू नै असंख्य गुटउपगुटमा विभाजित थिए। त्यसको प्रभाव नेपालमा नराम्रोसँग पर्ने गरेको छ। ख्रुस्चेब र माओको विवादको असर संसारमा सबै देशका कम्युनिस्ट पार्टीमा परेको देखिन्छ। ख्रुस्चेबले स्टालिनप्रति गरेको दुव्र्यवहार र उनको शान्तिपूर्ण संक्रमणको सिद्धन्तलाई माओले दृढतापूर्वक अस्वीकार गरे। त्यसपछि नै विश्व कम्युनिस्ट आन्दोलन प्रस्टरूपले दुई ध्रुवमा विभाजित भयो। तर त्यसको त आधार वैचारिक, सैद्धान्तिक एवं नीतिगत रह्यो। त्यसले विश्व कम्युनिस्ट आन्दोलनलाई सैद्धान्तिक रूपले दुई ध्रुवमा उभ्याइदियो। तर दुवै ध्रुवका पार्टीमा जनवादी केन्द्रीयताका नाममा अन्तरपार्टी जनवादको हत्या गर्ने, डरलाग्दो नोकरशाही शासन लाद्ने, मूल नेता र संस्थापन पक्षसँग मतभेद राख्नेहरूमाथि कठोर व्यवहार गर्ने परम्परा स्थापित गरियो। अहिले कम्युनिस्ट मानव अधिकार, लोकतन्त्र र स्वतन्त्रताको पक्षमा हुँदैनन् भनेर संसारभरि जुन मान्यता स्थापित छ, त्यसको एक मात्र कारण त्यही हो। हुन त जनवादी केन्द्रीयताको सही प्रयोग हुन नसकेको कुरो पनि बेलाबखत उठ्ने गरेका छन्। जनवादी केन्दीयताको दुरुपयोगले नै पार्टीलाई तानाशाही बनाएको भन्नेहरूको पनि कमी छैन। तर अब त्यस्तो भनाइको पनि अर्थ रहेन। लोकतान्त्रिक बनाउन र गिरेको साख पुनस्र्थापित गर्न सहज र सम्भव छैन।

नेपालमा अहिले कम्युनिस्ट पार्टीको नामप्रति जनतामा एक खालको आकर्षण देखिन्छ। कम्युनिस्ट पार्टीको परम्परागत ढाँचा बदल्नु हुँदैन भन्नेदेखि यसलाई प्रजातन्त्रीकरण गरिनुपर्छ भन्नेहरूको पनि उपस्थिति छ। तर दुवै विचारका वाहक उत्तिकै अनुदार र फरक विचारप्रति कठोर छन् भन्नेमा भने शंका छैन। लेनिनले प्रतिपादन गरेको संगठनात्मक सिद्धान्तका अरू कुरा विस्तारै छाड्दै लगे पनि जनवादी केन्द्रीयतालाई भने अहिलेसम्म कसैले पनि त्यागेका छैनन्। त्यसलाई त्याग्दा पार्टी अनुशासन कमजोर हुन्छ, अराजकता र उच्छृंखलता बढ्छ भन्ने तिनको धारणा छ। आफूलाई नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह ठान्ने एमालेले त सदस्यताको मामिलामा लेनिनको धारणाको उहिल्यै परित्याग गरिसकेको छ। प्रत्येक सदस्यलाई कुनै न कुनै कमिटीमा आबद्ध गर्ने र सबै सदस्य सक्रिय हुनुपर्ने भन्ने मान्यता छाडिसकेको छ। उसले नेपाली कांग्रेसको साधारण र क्रियाशील सदस्यताको नक्कल गर्दै सक्रिय र साधारण सदस्य भनेर वर्गीकरण गरेको छ। अब उसले विस्तारै लेनिनवादी संगठन प्रणालीका अरू कुरा पनि छाड्दै छ। तर जनवादी केन्द्रीयताचाहिँ नेतालाई सर्वशक्तिमान बनाउने, देवत्वकरण गर्ने एउटा यस्तो अचुक अस्त्र रहेछ, जसलाई छाड्ने कल्पना पनि गर्न सक्दैन। तर, जनवादी केन्द्रीयता नछाडी अब एमालेले आफूलाई लोकतान्त्रिक दलको रूपमा स्थापित गर्न सम्भव छैन।

अहिले पार्टी सञ्चालनमा प्रयोग हुने जनवादी केन्द्रीयता राज्य सञ्चालनको मामलामा पनि प्रयोग भएको आरोप कांग्रेसले लगाउन थालेको छ। जनवादी केन्द्रीयताले विध्वंश निम्त्याउँछ भन्ने प्रचार कांग्रेसजनको छ। लोकतन्त्र सफल पार्न जनवादी केन्द्रीयता होइन, लोकतान्त्रिक विधि प्रयोग गरेर निकास खोज्ने प्रयत्न गरिनुपर्छ। हर कुनै मुद्दाको फैसला लोकतान्त्रिक तरिकाबाट खोज्ने परम्परा स्थापित नगरी जनवादी केन्द्रीयतालाई विस्थापित गर्न सकिँदैन। जनवादी केन्द्रीयता विस्थापित नगरी युगौंदेखि जमेर बसेको नोकरशाही प्रवृत्तिको कसर फाल्न सकिँदैन।

जनवादी केन्द्रीयताको भूत वाम राजनीतिमा यति धेरै सवार छ कि त्यसले कसैलाई पनि छाडेको छैन। कम्युनिस्ट पार्टी सञ्चालनको मामलामा नै त्यसको प्रयोग असफल भइसकेको बेला जनवर्गीय संगठनहरूमा त्यसलाई जबर्जस्ती लागू गर्न खोजिँदै छ। प्रजातन्त्र कुनै अराजक भीड शासित प्रणाली होइन। प्रजातान्त्रिक प्रणालीबाट कुनै समस्याको हल खोज्नु, पार्टी निर्णयहरूमा पुग्नु अराजकता निम्त्याउनु होइन। त्यहाँ असहमति र विरोधको गुञ्जायस रहन्छ तर जनवादी केन्द्रीयता नामक यान्त्रिक प्रणालीले त्यसलाई समेट्न सक्दैन, जहाँ फरक मतका लागि स्थान हुन्छ, असहमति राख्ने अधिकार सुरक्षित हुन्छ। होइन भन्न सक्ने साहसलाई कदर गरिन्छ, त्यही प्रणाली जीवन्त हुन्छ र दीर्र्घजीवी पनि।

कम्युनिस्ट आन्दोलनको पतन र कम्युनिस्ट शासन धराशायी हुनुमा लोकतान्त्रिक मूल्यमान्यता स्वीकार गर्न नसक्नु मुख्य कारण हो। अब कम्युनिस्ट पार्टीहरूले आफ्नो संगठनात्मक सिद्धान्तलाई सिंहावलोकन गर्न, कम्युनिस्ट पार्टीको स्वरूपलाई नयाँ ढंगले परिभाषित गर्न र यसका औचित्यहीन भइसकेका पेचकिला फेर्न ढिलो भइसकेको छ। हुन त अब कम्युनिस्ट आन्दोलन नै हिजोकै रूपमा टिक्न सक्दैन। यो स्वयं नै औचित्यहीन भइसकेको छ। मदन भण्डारी र एमालेले त अब कम्युनिस्ट पार्टीले जनताको, मानव जातिको हित गर्न सक्दैन भन्ने सार्वजनिक रूपमै स्वीकार गरिसकेका थिए। तर त्यो नाम त्याग्दा जनताले एमालेलाई नै त्याग्लान् भन्ने त्रासका कारण मात्र कम्युनिस्ट नाम नछाडेको थियो।

अब जे नाम राखेर पनि टिक्ने अवस्थामा नेकपा बनेको एमाले पुगिसकेको छ। अब परम्परागत, शास्त्रीय सिद्धान्तमा आधारित कम्युनिस्ट पार्टी र त्यसले प्रयोग गर्दै आएको जनवादी केन्द्रीयतालाई त्याग्नैपर्छ। जनवादी केन्द्रीयता जुन उद्देश्यका साथ ल्याइएको व्यवस्था हो, अब त्यो त्यही रूपमा बुझ्ने र लागू गर्ने अवस्था छैन र नयाँ रूपमा यसको भाष्य निर्माण गरेर पनि यसले कुनै पार्टी आन्दोलनलाई सञ्चालन गर्न सकिँदैन। त्यसैले यो विधि परित्याग गर्नु र यसको सट्टा तुलनात्मकरूपले उपयुक्त, सहज र स्वीकार्य विधि अपनाउनु उपयुक्त हुन्छ। त्यसो गर्न सकिएन भने पार्टी संगठन कठोर, झन् अव्यावहारिक र विरोधी आवाज सुन्न नसक्ने बन्दै जान्छन्। त्यसको एकमात्र परिणति हुन्छ पतन। पतनबाट जोगिन विकल्प खोज्ने आँट देखाउन सक्नुपर्छ। – annapurna post

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *