नयाँ अनुहार

दलाल संस्कृतिको विरुद्ध बलिदान

– उमा भुजेल ‘शिलु’

मान्छे जन्मछन् अनि मर्छन् । यो स्वाभाविक प्रक्रिया हो । यो जन्मने र मर्ने प्रक्रिया चलिरहेकै हुन् तर त्यो फरकफरक तरिकाको हुन्छ । एकथरी मान्छेहरू व्यक्तिगत हित र आफ्नो स्वार्थका लागि काम गर्दागर्दै मर्छन् । अर्काथरी सामूहिक हित र स्वार्थका लागि लड्दालड्दै मर्छन् । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर सामूहिक स्वार्थका निम्ति लड्ने मान्छेहरू नै महान् हुन्छन् । तिनीहरू समाजका उच्च चेतनायुक्त मान्छेहरू हुन् जो सीमित हुन्छन् । उनको मृत्यु पहाडभन्दा गरुङ्गो हुन्छ । जसले आफ्ना लागि मात्र गर्दछन् र निजी स्वार्थका निम्ति मर्दछन् उनीहरूको मृत्यु प्वाँखभन्दा पनि हलुङ्गो हुन्छ ।

त्यसैले कस्तो कार्यमा लाग्ने, कस्तो मृत्यु रोज्ने महत्वपूर्ण विषय छ । समाजमा सामूहिक हित र सामूहिक स्वार्थका लागि लड्ने र पहाडजस्तो गरुङ्गो मृत्यु वरण गरेका मान्छेहरू छन् जसको भौतिक शरीर संसारमा नरहे पनि उहाँहरूको विचार हामीसँगै छ, बाँचिरहेको छ । दुनियाँमा धेरै मान्छेहरू भौतिक रूपमा बाँचिरहेका त छन् तर उनीहरूको विचार कुनै अस्तित्वमा छैन । त्यसैले हामीले बाँचेर पनि मरेतुल्य जीवन जिउनुभन्दा मरेर पनी बाँचिरहनेहरूको जस्तो जीवन जिउने बाटो रोज्नु श्रेयस्कर हुन्छ । महान् सहिदहरू जसले देश र जनताको मुक्तिका लागि बलिदान दिए ती हाम्रोबीचमा नभए पनि सधैँभरि प्रेरणाको स्रोत भएर बाँचिरहेका हुन्छन् । उहाँहरूको बलिदानीले क्रान्तिलाई उचाइमा उठाएको छ । प्रेरणाको स्रोत बनिरहनुभएको छ ।

हाम्रो आन्दोलन अगाडि बढ्दै जाँदा आन्दोलनको विकासक्रमसँगै बलिदानीको कोटा पनि चुक्ता गर्नुपर्ने हुन्छ । आन्दोलन र बलिदानी एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । आन्दोलनको प्रक्रियामा बलिदान अनिवार्य भएर आउँछ । बलिदान गौरवको विषय हो । जसरी ध्वंसपछि निर्माण हुन्छ त्यसैगरी केही क्षतिको बीचबाट मात्र उपलब्धि हासिल गर्न सम्भव छ । त्यसैले जहाँ क्रान्ति छ त्यहाँ बलिदान अनिवार्य छ । आज त्यही भैरहेको छ । हामीले बलिदानीको गौरवपूर्ण शिखर फेरि चुम्दैछौँ । कमरेडहरू कुमार, तीर्थ, निरकुमार, महान, प्रज्वल, दीपेन्द्र, रामकुमार, सनराइजलगायत प्रिय कमरेडहरूको रगत र बलिदानी त्यही प्रक्रिया हो जो आन्दोलनको प्रक्रियामा हाम्रो वर्गले पूर्ण रूपमा विजय प्राप्त नगरुन्जेल चलिरहन्छ । हामी सबै यसका निम्ति तयार भएका छौँ । यो गौरवको विषयलाई हामी सबैले दरोसँग आत्मसात गर्नुपर्ने हुन्छ ।

क्रान्ति सोझो र सरल रेखाबाट अघि बढ्दैन यो कयौँ घुम्ती र मोडहरू पार गर्दै अघि बढ्दछ । अनेकौँ प्रतिकूलतालाई अनुकूलतामा बदलेर मात्र विजयसम्म पुग्न सम्भव छ । क्रान्ति कसैले चाहेर सजिलै पार लाग्ने विषय होइन । यसमा त स्पष्ट दृष्टिकोणसहितको वैज्ञानिक कार्यदिशा आवश्यक पर्दछ । सही कार्यदिशाबिना पुरानो राज्यसत्ता (दलाल संसदीय व्यवस्था) ध्वंस गर्न असम्भव छ । पुरानो सत्तालाई ध्वंस गरेर मात्र जनताको विजयलाई सुनिश्चित गर्न सकिन्छ । कार्यदिशा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्दा बलिदानी अनिवार्य र आवश्यक भएर आउँछ । त्यो आवश्यकतालाई पूरा गर्न हामी सबै तयार भएकै हुनुपर्छ । स्मरण रहोस्, एकीकृत जनक्रान्तिकै प्रक्रियामा होनहार दसजना महान् योद्धाहरूले रगत बगाइसक्नुभएको छ ।

यतिबेला दलाल पुँजीवादी संसदीय सत्ता ठूलो सङ्कटमा छ । तर जतिसुकै सङ्कटमा परे पनि दुस्मनले सजिलै सत्ता छाड्दैन । यसले आफ्नो वर्गचरित्र देखाइछाड्छ । आज सीमित हुनेखाने वर्गको सत्ता छ । यसले सीमित हुनेखाने वर्गको स्वार्थका निम्ति बहुसङ्ख्यक शोषितपीडित जनतामाथि अधिनायकत्व लादिरहेको छ । हुनत यहाँ कम्युनिस्ट नामधारी सरकार छ । यसले आफूलाई कम्युनिस्ट भने पनि सारतः यो संशोधनवादी नै हो । कम्युनिस्ट पार्टीको आधार भूत मूल्यहरूबाट च्यूत भएर यसले दलाल सत्ताको नेतृत्व गरिरहेको छ । संशोधनवादीहरू सत्तामा आउने भनेको पुँजीपतिहरू सत्तामा आउने नै हो । झन् उनीहरू पुँजीपतिहरूभन्दा पनि दमनकारी, तानाशाही र फासिस्ट हुन्छन् । त्यसैले यतिबेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदै यसले चरम हत्या र दमन गर्दैछ ।

संविधान, कानुन र प्रजातन्त्रको दुहाइ दिएर नथाक्ने सरकार आफैँले बनाएको कानुन लागू गरिरहेको छैन । संविधानमा उल्लिखित हकअधिकार पनि आफैँले पालना गरिरहेको छैन । हरेक नागरिकको बाँच्न पाउने अधिकार, पार्टी खोल्न पाउने अधिकार, राजनीतिमा लाग्ने स्वतन्त्रतालाई कुण्ठित गर्दै र वञ्चित तुल्याउँदै आएको छ । महान् सहिद कुमार पौडेल, तीर्थ, रामकुमार हुँदै निरकुमारसम्म आइपुग्दा नेपालमा लोकतान्त्रिक गणतन्त्र होइन, पञ्चायती शासनको झल्को पाइन्छ । पञ्चायतले सोच्ने तरिका, अपनाउने शैली र अहिलेको सरकारले सोच्ने र प्रयोग गर्ने शैलीमा तात्विक अन्तर छैन । नेकपामाथिका कतिपय गतिविधि पञ्चायतलाई नै बिर्साउनेखालका छन् ।

कुमार पौडेलको घटना हेर्दा प्रहरीले कमरेड कुमारलाई आफ्नो कब्जामा लिएर हात टुक्राटुक्रा पारी गोली हानेर हत्या गरेको छ । तीर्थ कमरेडको घटना हेर्दा उहाँलाई आफ्नो नियन्त्रणमा लिएर निर्मम यातना दिएर हत्या गरेको पाइन्छ । निरकुमारको घटनामा पनि त्यस्तै पाइएको छ । उहाँलाई नियन्त्रणमा लिएपछि आत्मसमर्पण नगर्दा हत्या गरिएको पाइन्छ । राज्य नेकपाका विरुद्ध निर्मम ढङ्गले दमनमा उत्रिएको छ । यसका विरुद्ध प्रतिरोधमा उत्रनु अनिवार्य र आवश्यक बनेको छ । जसरी दुस्मनले हत्या र दमनको शृङ्खला खडा गर्दै गएको छ, फलतः क्रान्तिकारी आन्दोलनमा आवश्यकताअनुसार बलिदानीको कोटा चुक्ता गर्ने प्रक्रियाको शृङ्खला बढेको छ ।

सरकार नागरिक हत्यामा उत्रिएको छ । सरकारको यो रबैयाप्रति जनतामा तीव्र घृणा र आक्रोश पैदा भएको छ । महान् सहिद कुमार, निरकुमार, तीर्थलगायत कमरेडहरूलाई ढालेर क्रान्ति ढल्ने ठानेको भए यो सरकारको मात्र सपना हुनेछ, यो कहिलै पूरा हुँदैन । बलिदानले क्रान्तिलाई ऊर्जा प्रदान गर्दछ । बलिदानीले त क्रान्ति झन् प्रज्वलित भएर अगाडि बढ्छ । यो प्रक्रियाले त विजयलाई सुनिश्चित गर्दछ । क्रान्तिको प्रक्रिया त्यस्तो प्रक्रिया हो जहाँ एक मरे हजार जन्मछन् । विकास हुन्छ र विजयमा पुग्छ । यतिबेला सरकार यो बुझ्दैछ– क्रान्तिमा लाग्ने योद्धाहरूलाई मारेर सकिन्छ, रोकिन्छ र पराजय हुन्छ । तर यस्ता बुझाइ र व्यवहारहरू इतिहासमा कहिल्यै पूरा भएका छैनन् । यो अहिले पनि उत्तिकै सत्य हो ।

भौतिक रूपमा कुमार, तीर्थ र निरकुमारहरू हामीसामु हुनुहुन्न तर उहाँहरूले छाडेको विचार, उहाँहरूले देखाएको बाटो हामीसँगै छ । हामी त्यही मार्गमा हिँडिरहनेछौँ । उहाँहरूले स्थापित गरेको मूल्यमान्यता हामीसँगै छ । हामी प्रतिबद्ध छौँ । बलिदानीको बाटो पछ्याइरहेका छौँ । अँगालिरहेका छौँ । बलिदानीको संस्कृतिलाई अझ स्थापित गर्दैछौँ, गरिरहनेछौँ । हामीले बलिदानको संस्कृति स्थापित गर्ने मात्र होइन, बलिदानीलाई सगौरव अँगालिएको छ । जनताको सपनालाई केन्द्रमा राखेर आफूले उच्च बलिदानी प्रदान गरिएको छ । यसलाई जीवन्त राख्न क्रान्तिका कामहरूलाई घनीभूत पार्दै अघि बढ्नुपर्छ । यसरी मात्र सर्वहारा वर्गले सत्ता प्राप्त गर्न सक्छ । अनि मात्र वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्न सकिन्छ । हामीलाई कमरेडहरूको बलिदानीले मार्गनिर्देश गरेको कुरा नै यही हो ।

हाम्रो पार्टी निर्माण भएको धेरै लामो समय भएको छैन । छोटो समयमै हामीले धेरै अप्ठ्यारा र सजिला परिस्थितिको सामना गरिसकेका छौँ । यतिबेला हामीले उठाएको वैज्ञानिक समाजवाद विकल्पका रूपमा स्थापित हुँदैछ । हाम्रा एजेन्डाहरूले जनताको मन छोएको छ । जनतामा आशा पलाएको छ । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएर हत्या र दमनमा उत्रिएपछि नेकपाप्रति जनसमर्थन ह्वात्तै बढेको छ । सरकारको विपक्षमा जनमत खडा हुँदै गएको छ । हामीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा सही छ भन्ने कुरा व्यवहारतः बिस्तारै पुष्टि हुँदै गएको छ । क्रान्तिका लागि अनुकूल वातावरण बन्दै गएको छ । पार्टीपङ्क्त पनि सुदृढ र विस्तार हुँदैछ । क्रान्तिको नेतृत्व गर्न साथै बलिदान गर्न पनि तयार हुँदै गएको उत्साहजनक स्थिति छ ।

आन्दोलनमा साकारात्मक पक्ष बलियो हुँदाहुँदै पनि नकारात्मक पक्ष पनि आइरहेको छ । सकार र नकारको द्वन्द्ववाद लागू भइरहेको छ । सकारसँगं नकार पैदा भएको छ । आन्दोलनको उचाइ यहाँसम्म आइपुग्दा आन्दोलनबाट निष्क्रिय हुने, पलायन हुने र विरोधीको क्याम्प (एमाले मा प्रवेश गर्ने, धोका, गद्दारी, पलायन र आत्मसमर्पण गर्ने पनि देखापरेको छ । यो थोरै छ तर यसलाई नजरअन्दाज गर्न मिल्दैन । दलाल सत्तालाई परास्त गर्न यो आत्मसमर्पण, पलायन, गद्दारी गर्ने प्रवृत्तिका विरुद्ध लड्न सक्नुपर्छ । यसलाई पराजित गर्नुपर्छ ।

पार्टी छाड्ने र अरूलाई (जेलमा भएका वा बाहिर पार्टीमा रहेका) पनि पार्टी छाड्न प्रेरित गर्ने देखिन्छ । कतिपय त जेलमा नै कागज गरेर निस्कने पनि देखिन्छ । यस कार्यमा केपी–प्रचण्डको पार्टी सक्रिय देखिन्छ । नेकपा छोडेर जानेहरू पनि कुनै न कुनै रूपमा लागिरहेको पाइन्छ । हुनत मर्नदेखि डराएकाहरू बाँच्नका लागि संसदीय व्यवस्था मान्न तयार भएका, मलाई बाँच्न देऊ, बरु म तिम्रो खुट्टामा पर्छु भनेर विदेशीका सामु जीवनको भिक माग्नेहरू निजी स्वार्थ र हितलाई मुख्य ठान्ने गर्दछन् । उनीहरू दलालका पक्षमा र गरिब वर्गका विरुद्ध खडा भएका छन् । बाँच्नका लागि दलाल सत्ताका पक्षमा लागे पनि यथार्थमा भौतिक शरीर रहँदैमा बाँचेको मान्न मिल्दैन । उनीहरू पलपल मरिरहेका छन् ।

ती त्यस्ता प्रवृत्ति बोकेकाहरू भौतिक शरीर जीवित बोकेर हिँडे पनि विचारमा मरिरहेका छन् । जनताका अगाडि, सहिदका अगाडि, घाइते–अपाङ्गका अगाडि शिर ठाडो पारेर हिँड्न सक्दैनन् । सधैँ शिर झुकाएर हिँड्नुपर्ने अवस्था हुन्छ । त्यसैले बाँचेर पनि मरिरहेका गद्दारहरू, धोकेबाजहरू, पलायनवादी, आत्मसमर्पणकारीहरूलाई क्रान्तिकारीहरूले सधैँ घृणा गर्नुपर्छ । त्यसलाई प्रतिरोध र बदलाभावमा बदल्नु पर्दछ । आन्दोलनमा जहिले पनि राम्रोसँगै नराम्रो पनि आउँछ तर नराम्रोका विरुद्ध निर्मम भएर अगाडि बढ्नुपर्छ । त्यस प्रवृत्तिलाई निस्तेज पार्नु, हाम्रो आन्दोलनमा जो खराब प्रवृत्ति छ त्यसका विरुद्ध डेटर लाग्नुपर्छ । यो आन्दोलनको मूल प्रवृत्ति बन्न दिनु हुँदैन, बन्नु हुँदैन ।

एकीकृत जनक्रान्तिमा मूल प्रवृत्ति भनेको साहस– साहस–साहसका साथ अगाडि बढ्ने, आवश्यकताअनुरूप बलिदान दिँदै जाने र बलिदान दिन तयार हुने हो । बलिदानको यही मूल्य र मान्यतालाई स्थापित गर्नुपर्छ । यसलाई अझै माथि उठाउनुपर्छ । बलिदान भन्नासाथ सहिद शब्द जोडिएको हुन्छ । सहिद भन्नासाथ जनता र राष्ट्रको हितमा जीवनको आहुति दिने महान् मान्छे भनेर बुझिन्छ । सहिद शब्द आफैँमा महत्वपूर्ण छ । निजी स्वार्थ चाहनेहरू कहिल्यै सहिद बन्दैनन् । सामूहिक स्वार्थलाई मुख्य ठान्नेहरू मात्र सहिद बन्न सक्छन् । कुमार, तीर्थ र निरकुमारहरू त्यही कारण सहिदको कोटीमा छन् । उहाँहरूले त रगतद्वारा इतिहासमा सुनौलो अक्षरले नाम लेखाइसक्नुभएको छ ।

उहाँहरू कहिल्यै धोकेबाज, गद्दार र पलायनवादी हुन सक्नुहुन्न । तर हामी बाँचेकाहरूप्रति प्रश्नैप्रश्न छन्– के सधैँ हामी सहिदको पदचापलाई पछ्याइरहन सक्छौँ ? सहिद बनेर गौरवपूर्ण मृत्यु रोज्न सक्छौँ ? त्यसैले त सहिदहरू महान् छन् । सहिदको जति व्याख्या गरे पनि कम नै हुन्छ । जति लेखे पनि लेखेर सकिँदैन । तर सहिदको सम्मान वास्तविक अर्थमा त्यो हो बोल्दैमा लेख्दैमा मात्र हुँदैन । साँच्चै व्यवहारमा लागू गर्नु पर्दछ । जीवनको अन्त्यसम्म सहिदका सपनाहरू पूरा गर्न डटिरहनु पर्दछ । हामी सबैले त्यो प्रण गरौँ । बलिदानी संस्कृतिको संरक्षण र विकास गरेर मात्र वैज्ञानिक समाजवाद ल्याउन सकिन्छ । त्यतिबेला मात्र सहिदको सपना पूरा हुन्छ । विश्वसर्वहारा वर्गका नेता लेनिनका दाजु नारोदनिक विद्रोहका सहिद हुनुहुन्थ्यो । सहिद परिवारसमेत रहेका लेनिनले “हामी हाम्रा पुर्खाहरूभन्दा राम्रोसँग लडिरहेका छौँ । हाम्रा सन्ततिहरू हामीभन्दा राम्ररी लड्नेछन् र विजय प्राप्त गर्नेछन्” भन्नुभएको थियो । त्यसकारण सहिदको सपना पूरा गर्न अझ राम्ररी लड्नु नै दलाल संस्कृतिका विरुद्ध वैज्ञानिक समाजवादी संस्कृति निर्माणको प्रक्रिया हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *