पत्रपत्रिका

नेकपाका पाँचथर र ताप्लेजुङ जिल्ला इन्चार्जसहित ६ जना गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका २ जना जिल्ला इन्चार्जसहित ६ जनालाई केपी–बादल गृह प्रशासनले आइतबार गिरफ्तार गरेको छ ।

झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको हो ।

गिरफ्तार पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र अखिल (क्रान्तिकारी) मेची–कोशी संयोजक २४ वर्षीय गणेश कार्की छन् ।

उनीहरूलाई एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद
अनुवाद : भेषराज भुसाल

सोभियत संशोधनवादी सामाजिक साम्राज्यवाद विश्व साम्राज्यवादको लामबन्दी सामेल सामाजिक साम्राज्यवाद नामबाट समाजवाद तर सार र रूपमा साम्राज्यवाद हो । साम्राज्यवाद लगातार कमजोर हुँदै अन्त्य हुँदै जाने प्रक्रियामा नै बीसौँ शताब्दीको मध्यमा सोभियत सामाजिक साम्राज्यवादको उदय भयो । लेनिन र स्टालिनको मृत्युपछि ख्रुस्चेभ र ब्रेजनेभका गद्दार गुटले एउटा क्रान्तिकारी सत्ता पल्टाएर पार्टी र राज्यसत्तामाथि कब्जा गरे । ठूलो परिमाणमा पुँजीवादको पुनस्र्थापना गरिछाडेर यसप्रकार सोभियत सङ्घलाई एउटा सामाजिक साम्राज्यवादी देशमा बदलिदिए ।

प्रथम विश्वयुद्धका क्रममा लेनिनले त्यस समय जर्मन सामाजिक जनवादी पार्टीका नेता काउत्सीको भत्र्सना गर्दै उसलाई ‘सामाजिक साम्राज्यवादी’ अर्थात् नाम मात्रले समाजवादी परन्तु वास्तवमा साम्राज्यवादी भन्नुभयो ।१ ब्रेजनेभको गद्दार गुट पनि काउत्स्कीजस्तै सामाजिक साम्राज्यवादी नै हो । फरक यत्ति मात्र छ– यस गुटले केवल संशोधनवादको पक्षपोषण मात्र गर्दैन, साम्राज्यवादको रक्षा पनि गर्दछ । यसभन्दा पनि अझै एक त कोरकुष्ठ, त्यो पनि चिलाउने भनेजस्तै त्यो राज्यसत्तामाथि पनि आसीन छ र स्वयम् लेनिनद्वारा सिर्जित महान् देशलाई एउटा सामाजिक साम्राज्यवादी देशमा बदलिदिएको छ । सामाजिक साम्राज्यवाद ‘समाजवादी’ बिल्ला टाँसिएको साम्राज्यवाद नै हो । यद्यपि यो लेनिनको आफ्नो देश र एक समयको एउटा महान् समाजवादी देश सोभियत सङ्घमा जन्मिएको छ । त्यसकारण यसले कैयौँ धेरै भ्रम पार्ने र खतरनाक छ । वस्तुतः यो अत्यन्त दुष्टतापूर्ण साम्राज्यवाद हो ।

राजकीय एकाधिकारी पुँजीवाद सामाजिक साम्राज्यवादको मुख्य आर्थिक आधार हो ।

सोभियत सङ्घमा राजकीय एकाधिकारी पुँजीवादको गठन

चाहे पुँजीवाद–साम्राज्यवाद होस् वा सामाजिक साम्राज्यवाद दुवै नै आफ्ना आधारभूत आर्थिक अभिलक्षणहरूमा एउटै समानता हुन्छ । उनीहरूको मुख्य आर्थिक आधार एकाधिकारी पुँजीवाद नै हो । यद्यपि पुँजीवादी साम्राज्यवादी देशहरूमा एकाधिकारी पुँजीवादी अर्थव्यवस्थाका दुईवटा रूप हुन्छन् ः निजी एकाधिकारी पुँजीवाद र राजकीय एकाधिकार पुँजीवाद । सामाजिक साम्राज्यवादी देशहरूमा एकाधिकारी पुँजीवाद सदैव नै राजकीय एकाधिकारी पुँजीवादका रूपमा हुने गर्दछ । यही राजकीय एकाधिकारी पुँजीवाद नै सामाजिक साम्राज्यवादको मुख्य आर्थिक आधार हो । सामाजिक र पुँजीवादी साम्राज्यवादको यो अन्तर ती ऐतिहासिक अवस्थाहरूद्वारा निर्धारित हुने गर्दछ जसअन्तर्गत एकाधिकारी पुँजी उत्पन्न हुने गर्दछ ।

पुँजीवादी साम्राज्यवादी देशहरूको एकाधिकारी पुँजीको सिर्जना निजी पुँजीवादी अर्थव्यवस्थाअन्तर्गत घाँटीरेटाइ प्रतिस्पर्धाको प्रक्रियामा पुँजी सञ्चय र केन्द्रीकरणको माध्यमबाट सुस्तसुस्त भएको हो । निजी एकाधिकारी पुँजीवाद पहिले प्रकट भयो र ठूलो परिमाणमा छाउन पुग्यो । परन्तु जब निजी एकाधिकारी पुँजीवाद एउटा निश्चित हदसम्म विकसित हुन गयो र जब एकाधिकारी पुँजी र राज्यसत्ता मेसिनरीका साथ जुटेर एकाधिकारी पुँजीको सेवामा लाग्न थाल्यो तब राजकीय एकाधिकारी पुँजीवादको उदय भयो । सामाजिक साम्राज्यवादी देशमा राजकीय एकाधिकारी पुँजीवाद तब अस्तित्वमा आयो जब सत्ताधारीहरूले पुँजीवाद मार्ग अख्तियार गरेर समाजवादी देशको पार्टी र सरकारी संयन्त्रमाथि कब्जा गरेर यस प्रक्रियामा समाजवादी अर्थव्यवस्थालाई रूपान्तरित गर्दै पुँजीवादको पुनस्र्थापना गरिदिए ।

सोभियत सङ्घको गद्दारद्वारा पार्टी र सरकारी संयन्त्रमाथि कब्जा गरिसकेपछि रुसको विशेष अधिकार प्राप्त बुर्जुवा वर्गले आफ्नो राजनीतिक र आर्थिक एवम् सांस्कृतिक क्षेत्रहरूमा एउटा प्रभुत्वशाली हैसियत ग्रहण गरेर एउटा यस्तो नोकरशाही एकाधिकारी बुर्जुवा समूहलाई सङ्गठित ग¥यो जसले सम्पूर्ण राज्य मेसिनरी र सामाजिक सम्पदामाथि नियन्त्रण गरिरहेको छ । यसै नयाँ नोकरशाही एकाधिकारी बुर्जुवा वर्गले राज्यसत्तामाथि नियन्त्रण कायम गरेर त्यसको प्रयोग समाजवादी स्वामित्वलाई पुँजीवादी मार्गलम्बीहरूको स्वामित्वमा बदल्नु तथा साम्राज्यवादी अर्थव्यवस्थालाई पुँजीवादी अर्थव्यवस्था अर्थात् राजकीय एकाधिकारी पुँजीवादी व्यवस्थामा बदल्नका निम्ति गर्यो ।

कुनै पनि समाजको अर्थव्यवस्था त्यसको लेबलद्वारा होइन, उत्पादनका साधनहरूमाथिको स्वामित्वद्वारा निर्धारित हुने गर्दछ । अर्को शब्दमा त्यसको निर्धारण यस कुराबाट हुन्छ– उत्पादनका साधनहरूमाथि कसको स्वामित्व छ, कसले त्यसको वितरण गर्दछ र तिनले कसको सेवा गर्दछन् ? ब्रेझनेभ र ख्रुस्चेभ गद्दार गुटले सोभियत सङ्घमा पार्टी र सरकारी मेसिनरीमाथि कब्जा गरेपछि राजनीतिक र आर्थिक सत्तामाथि पनि पूर्ण रूपमा नियन्त्रण कायम ग¥यो र आर्थिक क्षेत्रमा सम्पूर्ण रूपबाट संशोधनवादी नीति लागू गरिदियो । त्यसले ‘रुबललाई श्रम योग्यताको एउटा मापकका रूपमा’ तथा ‘कार्य सञ्चालन र व्यवस्थापनमा लागेका कम्युनिस्ट पार्टीका सदस्यहरूलाई मूल्याङ्कन गर्नका निमित्त मुनाफा कमाउने योग्यतालाई नै सर्वोत्तम कसीका रूपमा’ प्रतिस्थापित गरिदियो । त्यही सोभियत संशोधनवादी गद्दार गुटको समर्थनबाट संशोधनवादका अर्थशास्त्री लिबर मैनले राजकीय उद्योग प्रबन्धनको एउटा यस्तो योजना प्रस्तावित गरे जुन मुनाफा र भौतिक प्रोत्साहनमा आधारित थियो र त्यस ‘प्रयोग’ लाई व्यापक परिमाणमा लागू गरियो । जब ख्रुस्चेभपछि ब्रेझनेभ सत्तामा आयो तबदेखि त्यो ‘नयाँ आर्थिक प्रणाली’ राष्ट्रव्यापी रूपमा संस्थागत गरियो तब त्यसमा पुँजीवादको मुनाफा सिद्धान्त नोकरशाही एकाधिकारी अल्पतन्त्रद्वारा श्रमजीवी जनताको सकिएको थियो । ती ‘फेरबदलहरू’ का कारण उत्पादनका साधनहरू जुन पहिले सोभियत सङ्घका जनताहरूको स्वामित्वमा थिए अब यस नयाँ नोकरशाही एकाधिकारी बुर्जुवा वर्गका कब्जामा छन् र त्यसैका सेवामा लागिरहेका छन् । अब सोभियत सङ्घमा मजदुरहरू र विकासहरूलाई उत्पादनका साधनहरूबाट वञ्चित गरिसकिएको छ र उनीहरूलाई एकपल्ट फेरि किरायाका मजदुर बनाइसकिएको छ । अब भलै सोभियत सङ्घले समाजवादी लेबल चिप्काइरहोस् परन्तु पूर्ववर्ती समाजवादी स्वामित्व प्रणाली अब वास्तवमा नोकरशाही एकाधिकारी बुर्जुवा वर्गको स्वामित्वमा बदलिइसकेको छ ।

समाजवादी समाजमा, समाजवादी राजकीय स्वामित्वमा आधारित राज्य सञ्चालित अर्थव्यवस्था राष्ट्रिय अर्थव्यवस्थाको एउटा नेतृत्वदायी तत्व हुने गर्दछ । परन्तु एकपल्ट जब संशोधनवादी गद्दार गुटले समाजवादी अर्थव्यवस्थाको नेतृत्व कब्जा गर्दछ तब त्यो स्वाभाविक रूपमा एउटा राजकीय एकाधिकारी पुँजीवादी अर्थव्यवस्थामा बदलिन पुग्छ । यसको कारण के हो भने नयाँ नोकरशाही एकाधिकारी बुर्जुवा वर्ग उत्पादक शक्तिहरूलाई जति नै धेरै आफ्ना हितहरूको प्रतिनिधित्व गर्ने राजकीय स्वामित्वअन्तर्गत लगाउँदै जान्छ त्यति नै धेरै उसले ‘राज्य’ का नाममा सम्पूर्ण समाजको सम्पदालाई आफ्नो अधीन बनाउँदै जान्छ । यस तरिकाबाट उसले राज्यको लेबलको प्रयोग गदै श्रमजीवी जनतालाई धोका दिइरहने मात्र गर्दैन, राजकीय पुँजीवादको माध्यमबाट उसले राष्ट्रिय अर्थव्यवस्थामाथि आफ्नो नियन्त्रणलाई पनि बलियो बनाउँदै जान्छ । अतः सोभियत सङ्घको पुँजीवादी अर्थव्यवस्थाको विशिष्ट अभिलाक्षणिकता के हो भने राजकीय एकाधिकारी पुँजीवादले नै सम्पूर्ण चीजहरूको नियन्त्रण र सञ्चालन गर्दछ । परन्तु यस्तो स्थिति पुँजीवादी साम्राज्यवादी देशहरूमा कमै हुने गर्दछ । पुँजीवादी साम्राज्यवादी देशहरूमा राजकीय एकाधिकारी पुँजीवादको राम्रै विकास भइसकेपछि पनि अहिले त्यो त्यस स्थितिमा पुग्न सकेको छैन जस्तो सोभियत सङ्घमा चलिरहेको छ । शोषण र उत्पीडनका कारण सोभियत मजदुर वर्ग र खासगरी अधिकांश श्रमजीवी जनतालाई अत्यन्त्य धेरै आपत भोग्नु परिरहेको छ । लेनिनले एकपल्ट भन्नुभएको थियो, ‘उत्पादनका साधनहरूमाथि निजी स्वामित्वअन्तर्गत अधिकाधिक एकाधिकरण र राष्ट्रियकरण अपरिहार्य रूपमा श्रमजीवी जनताको शोषण र उत्पीडनलाई बढाउनेहरू तथा विद्रोह गर्नका निम्ति अझै धेरै कठिनाइहरू खडा गर्नेछन् । यसै प्रकारले प्रतिक्रियावादी सैनिक तानाशाही बलियो हुनु पनि अपरिहार्यतः अन्य वर्गहरूबाट अधिकाधिक पुँजीवादी मुनाफा असुल गर्ने र मजदुर वर्गलाई दशकौँसम्म आयातमा राख्ने काम नै गर्नेछ । यसको फलस्वरूप मजदुर वर्गले ती अर्बाैं डलरहरू भुक्तान गर्नका लागि मूल्य चुकाउनु पर्नेछ जसलाई सैनिक तानाशाहीले उधारो लिइसकेको हुन्छ ।’२

जब हामीले लेनिनका उपरोक्त उदाहरण पढ्छौँ तब त्यही सोभियत राजकीय पुँजीवादको नै एउटा सटिक आर्थिक विश्लेषणको जानकारी हुन्छ । रुसका एक सुप्रसिद्ध कवि नेक्रासोवले एकपल्ट पुरानो जारकालीन शासनप्रति दुःख र आक्रोश पोख्दै भन्नुभएको थियो, ‘रुसमा भला कुन सुखी र स्वतन्त्र हुन सक्छ ?’ आजको रुसमा पनि हालत कस्तो छ भने अक्टोबर क्रान्तिका नायकहरूका सन्तानहरू यति धेरै सङ्कट भोगिरहेका छन् कि न उनीहरूलाई कुनै सुख छ, न त बोल्नका लागि स्वतन्त्रता छ । परन्तु ब्रेझनेभको नेतृत्वमा नोकरशाही एकाधिकारी बुर्जुवा वर्गले राजकीय कोषलाई लुटीलुटी विलासिताको जीवन बाँचिरहेका छन् । निर्मम र स्वेच्छाचारी शासन गरिरहेका छन् । ब्रेझनेभको नेतृत्वमा यही नोकरशाही एकाधिकारी बुर्जुवा वर्ग सामाजिक साम्राज्यवादको वर्गीय आधार र राजकीय पुँजीवादको ‘मूर्त रूप’ हो ।

ट्रस्ट सोभियत संशोधनवादको एकाधिकारी सङ्गठनको आधारभूत रूप हो ।

सोभियत संशोधनवादको राजकीय पुँजीवादमा सङ्गठनको एउटा महत्वपूर्ण रूप ‘ट्रस्ट’ हो । यद्यपि यी ट्रस्टहरू जुन तरिकाहरूबाट कायम गरिएका छन् ती पुँजीवादी देशहरूका एकाधिकारी सङ्गठनहरूभन्दा फरक छन् । यिनको निर्माण त राज्यको बलपूर्वक कारबाहीहरूको माध्यमबाट तमाम मध्यम र साना आकारका उद्योगहरूलाई मिलाएर गरिएको छ ।

एकाधिकारी सङ्गठनको एउटा रूपमा ट्रस्ट सोभियत सङ्घमा तीव्रताका साथ विकसित भएको छ । १९६१ मा यस्तै दुईवटा मात्रै ट्रस्ट थिए परन्तु दस वर्षपछि १९७१ मा १४०० ट्रस्ट कायम हुन गए जसका अधीनमा १४०० उद्योग र १७ लाख कर्मचारी आए । खनिज उद्योगहरूमध्ये करिब एक तिहाइ ट्रस्टहरूका अधीनमा आइसकेका थिए । सोभियत सङ्घको ‘ चौबीसौँ राष्ट्रिय काङ्ग्रेस’ का अवसरमा ब्रेझनेभले घोषणा गरे– ‘ट्रस्ट र विलयीकृत उद्योग स्थापित गर्ने नीतिलाई निश्चय नै पूर्ण दृढताका साथ लागू गरिनेछ – भविष्यमा तिनीहरूलाई नै सामाजिक उत्पादनको लेखाजोखाको आधारभूत आर्थिक एकाइ बनाउनु छ ।’ सोभियत संशोधनवादी नेतृत्वकारी समूहको त्यस आदेशको पालना गर्दै ट्रस्ट प्रणाली १९७१ देखि लिएर अहिलेसम्म आफ्नो प्रभाव क्षेत्र कति विस्तृत गरिसकेको छ भने सोभियत सङ्घका सम्पूर्ण म्यानुफ्याक्चरिङ (उत्पादन कारखाना– अनु.) क्षेत्र यसैका अधीनमा आइसकेका छन् ।

सोभियत संशोधनवादी ट्रस्ट आधारभूत रूपमा तीन प्रकारका छन् :

पहिलो विलयीकृत उद्योग ‘कानुनी रूपमा आफ्नो स्वतन्त्रता र हैसियत गुमाइसकेका छन् ।’ यस्ता ट्रस्ट ‘सामाजिक उत्पादनको लेखाजोखाको आधारभूत आर्थिक एकाइ बनिसकेका छन्’ र आफ्ना अधीनस्थ उद्योगहरूमाथि आफ्नो सर्वाधिकार राख्दछन् ।

दोस्रो जसमा केही विलयीकृत उद्योग आफ्नो कानुनी स्वतन्त्रता गुमाइसकेका हुन्छन् भने जो यस्ता पनि हुन्छन् जसले आफ्नो ‘सापेक्षित स्वतन्त्रता बनाइराखेका हुन्छन् ।’
र तेस्रोथरी जसमा विलयीकृत उद्योग ‘अहिले पनि स्वतन्त्र’ बनिरहेका हुन्छन् यद्यपि ट्रस्टद्वारा नै सञ्चालन हुन्छन् ।

सोभियत संशोधनवादले उपरोक्त तीनवटै प्रकारका ट्रस्टहरूमध्ये पहिलो प्रकारका ट्रस्टहरूको विकासमा जोड दिएको छ । यसको मोडेल पश्चिमा एकाधिकारी पुँजीवादी उद्योगहरूको मोडेलमा तयार गरिएको छ र त्यसमा उनकै ‘सङ्गठनात्मक प्रणाली ‘चार्ट’ को प्रयोग’ गरिएको छ । सोभियत संशोधनवादले यसप्रकारका ट्रस्टहरूलाई ‘रुसी उद्योगहरूको एक सङ्क्षिप्त र प्रसुप्त भावी संरचना राख्ने’ र एक ‘विशिष्ट रुसी कन्सर्टियम’ का रूपमा प्रचारित गरेको छ । यी ट्रस्टहरूले उत्पादनमा मात्र आफूलाई संलग्न बनाउँदैनन् यसका अतिरिक्त कच्चा पदार्थहरूको आपूर्ति र उत्पादित मालहरूको वितरणको पनि काम गर्दछन् । यी ट्रस्टहरू र पश्चिमी एकाधिकारी पुँजीवादी उद्योगहरूका बीच अन्तर के छ भने यस रुसी ट्रस्ट र राज्यसत्ताको आपसी गठबन्धन अपेक्षाकृत अधिक घनिष्ठ छ । यसले केवल लेखाजोखाको आधारभूत आर्थिक एकाइ मात्र होइन, अंशतः ती कार्यहरूलाई पनि समाल्ने गर्दछ जसलाई पहिले सामान्य नियन्त्रण ब्युरो वा कहाँसम्म भने नियन्त्रण मन्त्रालयद्वारा नियोजन, उत्पादन, आपूर्ति र वितरणका विषयहरू हुने गर्दथे । ठूला र क्षेत्रीय ट्रस्ट ‘केवल एउटा एकीकृत उत्पादन एकाइ मात्र होइनन्, एउटा आर्थिक प्रबन्धक निकाय पनि’ बन्न गएका छन् । आर्थिक नियन्त्रणसँग सम्बन्धित कार्यभार समाल्ने विभिन्न मन्त्रालय र यी ट्रस्टहरूका बीचमा अब कुनै मध्यवर्ती निकाय रहेका छैनन् । अहिले ट्रस्टहरूका प्रबन्धकहरू पनि सरकारी मन्त्रालयहरूका सचिवहरू र उपसचिवहरूजस्तै सोभियत संशोधनवादका ‘राष्ट्रिय अर्थव्यवस्थाका नेतृत्वदायी सदस्यहरू’ कै रूपमा प्रतिष्ठित हुन गएका छन् । अहिले तिनीहरू ब्रेझनेभको नेतृत्वमा नोकरशाही एकाधिकारी बुर्जुवा वर्गका महत्वपूर्ण सदस्य भइसकेका छन् । यसप्रकार ती ट्रस्ट त्यस्ता सत्ता बन्न गएका छन् जसले राजकीय निकाय र एकाधिकारी सङ्गठनलाई एकताबद्ध गर्दछन् तथा यी सबै अहिले राजकीय एकाधिकारी पुँजीवादको प्रशासनिक प्रणालीका महत्वपूर्ण रूप बनिसकेका छन् ।

ट्रस्टका रूपमा एकाधिकारी सङ्गठन अस्तित्वमा आउनुभन्दा धेरै पहिलेदेखि नै सोभियत संशोधनवादको राजकीय उद्योग पुँजीवादी रहेको थियो । सोभियत संशोधनवादको राजकीय उद्योगअन्तर्गत श्रमजीवी जनतालाई धेरै पहिलेदेखि नै उद्योगको स्वामित्वबाट वञ्चित गराएर नोकरशाही एकाधिकारी बुर्जुवा वर्गका नोकर बनाइदिएको छ । उद्योगहरूको नेतृत्व उनैले गर्दछन् जुन सोभियत संशोधनवादी नेतृत्व समूहका दलाल हुन्छन् । ‘समाजवादी राजकीय उत्पादन उद्योगहरूका नियम र विधानहरू’ का आचारसंहिताका अनुसार उद्योगहरूका प्रबन्धकहरूलाई ‘कर्मचारीहरूलाई भर्ती गर्न र बर्खास्त गर्ने अधिकार प्राप्त छ र तिनीहरूले नै उद्योगका कर्मचारीहरूलाई दण्ड र पुरस्कृत गर्ने निर्णय पनि गर्दछन् ।’ उनीहरूसँगै स्टाफ कर्मचारहीहरू र मजदुरहरूको ज्याला तथा बोनस तय गर्ने साथै उत्पादनका साधनहरूलाई पुनः बिक्री गर्ने वा किरायामा दिनेसमेत अधिकार छ । संङ्क्षेपमा भनौँ ट्रस्टबिना पनि प्रबन्धक र संस्थानका निर्देशक राजकीय उद्योगहरूका सम्पूर्ण अधिकारहरूबाट लैस भएर पहिलेदेखि नै शासक बनेका थिए, त्यसैप्रकारले मजदुरहरूको अधिकांश आवादी पनि पहिलेदेखि नै त्यस नोकरशाही एकाधिकारी बुर्जुवा वर्गका नोकर बनिसकेका थिए । यो नयाँ ढङ्गको पुँजीपति वर्ग आफ्ना नियन्त्रणमा रहेका राजकीय उद्योगहरू र ट्रस्टहरूको प्रयोग गर्दै राज्यका नाममा कर असुली तथा अधिग्रहित मुनाफाको माध्यमबाट सोभियत मजदुर वर्गको श्रमको फलहरूलाई निर्बाध लूट जारी राख्दै आएका छन् । त्यस लुटलाई मुठ्ठीभर एकाधिकारी पुँजीपतिहरूको विलासितापूर्ण जीवन बिताउन, सोभियत जनतालाई दमन गर्न, आक्रमण र सैनिक तयारी गर्न तथा आफ्नो सामाजिक साम्राज्यवादी नीतिलाई अगाडि बढाउनमा खर्च गरिरहेका छन् ।

जतिबेला ब्रेझनेभको गद्दार गुटले मेनुफ्याक्चरिंग र खनिज उत्खननका क्षेत्रहरूमा ठूलो परिमाणमा एकाधिकारी सङ्गठन स्थापित गर्न लागिरहेको थियो । त्यसैवेला कृषि क्षेत्रमा पनि विविध प्रकारका एकाधिकारी सङ्गठन खडा हुन गए । यसअन्तर्गत : (१) कृषि ट्रस्ट जुन विशिष्टीकृत राजकीय फार्महरूका ट्रस्ट हुन्, जस्तै कुखुरा फार्म, पशुफार्म र तरकारी फार्म ट्रस्ट (२) कैयौँ राजकीय फार्महरू या सामुहिक फार्महरू वा राजकीय फार्महरू र सामूहिक फार्महरूका बीचमा मध्यवर्ती सङ्गठनहरूका रूपमा बनेका कृषि ट्रस्ट र (३) कृषि र उद्योग मिश्रित जसलाई कृषि–उद्योग संयुक्त उद्योग पनि भनिन्छ ती यस्ता ट्रस्ट हुन् जसको माध्यमबाट कृषिगत उद्योग कृषि उपजहरूलाई प्रशोधित गर्ने संयन्त्रहरूलाई स्वयम् सञ्चालन गर्दछन् । यस्ता कृषिजन्य एकाधिकारी सङ्गठनहरूको माध्यमबाट नोकरशाही एकाधिकारी बुर्जुवा वर्गले व्यापक सोभियत ग्रामिण क्षेत्रमा आफ्नो बलियो पकड बनाएको छ र त्यसलाई जमेर लटिरहेको छ ।

‘शोकिनो प्रयोग’ सोभियत संशोधनवादी एकाधिकारी उद्यमद्वारा लागू गरिएको उत्पीडनकारी प्रणालीको मोडेल थियो ।

यी नवएकाधिकारी पुँजीवादी नोकरशाहीहरूले राष्ट्रिय अर्थव्यवस्थामाथि नियन्त्रण कायम गरेर ज्यालामा मजदुर राख्ने पुँजीवादी प्रणालीलाई पूर्ण रूपमा पुनस्र्थापना गरी ठूलो जनसंख्याको शोषण र उत्पीडनलाई झनै तीव्र बनायो । १९६७ मा नै चलिरहेको तथा कथित ‘शोकिनो प्रयोग’ले सोभियत सङ्घमा पुँजीवादको पुनस्र्थापनालाई भलिभाँती सिद्ध गरिदिएको थियो ।

सोकिनो एउटा रासायनिक उद्योग थियो जुन मस्कोको नजिक स्थापित गरिएको थियो । यसमा ७००० भन्दा धेरै कर्मचारी कार्यरत थिए तथा यसमा रासायनिक उर्वरकहरू र अन्य रासायनिक उत्पादनहरूको उत्पादन गरिन्थ्यो । अगस्त १९६७ मा सोभियत संशोधनवादी नोकरशाही बुर्जुवा वर्गको आवश्यकताका निम्ति यस उद्योगबाट उत्पादन बढाउने, श्रम उत्पादनकर्तालाई माथि उठाउने र कर्मचारीहरूको सङ्ख्या घटाउने प्रयोजनका लागि ‘ कर्मचारीहरूको सरोकारलाई बढाउनका निम्ति’ भनेर एउटा तथाकथित ‘आर्थिक प्रयोग’ सुरु गरियो । यस ‘प्रयोग’ ले कैयौँ समस्याहरूलाई एकैसाथ हल गर्ने र कामदारहरूका केटाकेटीहरूलाई एकैसाथ संयुक्त गर्ने उपाय लागू गरेर मजदुरहरूको श्रम सघनतामा उत्तरोत्तर वृद्धि ग¥यो र यसप्रकार सेवाका दायराहरूलाई विस्तारित गरिदियो तथा कर्मचारीहरूको सङ्ख्या घटाउने र श्रम सघनता बढाउने लक्ष्यलाई पनि पूरा ग¥यो । यसै क्रममा उद्योगको कुल वेतन कोषलाई कैयौँ वर्षका लागि रोक्ने पनि निर्णय लिइयो । यसप्रकार कर्मचारीहरूको छटनीबाट वेतन कोषमा जुन बचत हुन गयो त्यसलाई पूर्ण रूपमा त्यस उद्योगमा लागेका मुठीभर विशेषाधिकार प्राप्त वर्गको मनका लागिप्रयोग गर्नका लागि छोडियो । यसैको डिङ हाँक्दै ब्रेझनेभले भन्यो– यो ‘प्रयोग’ पारिश्रमिकहरूका लागि एउटा सटिक मोडेल थियो र त्यहीँबाट यसलाई पूरै सोभियत सङ्घमा व्यापक रूपबाट लागू गरियो ।

वस्तुतः यस ‘सोकिनो प्रयोग’ को मूल मन्तव्य ‘श्रम उत्पादकता बढाउने र श्रम शक्ति घटाउने’ नै हो ता कि उद्योगलाई ‘त्यसको पूर्ण क्षमतालाई निचोर्ने’ दिशामा अगाडि बढाउन सकियोस् । परन्तु श्रम उत्पादकतालाई कसरी बढाउने ? ‘सोकिनो प्रयोग’ ले साबित गरिदियो– यसलाई श्रम सघनता बढाएर नै बढाउन सकियो । जुन १९७१ का तथ्याङ्कअनुसार जहिलेबाट यो सोकिनो रासायनिक संयुक्त उद्योगले यो ‘प्रयोग’ लागू गर्यो तबदेखि १००० भन्दा धेरै मजदुरहरूको छटनी गरिसकेको छ जुन स्टाफ कर्मचारीहरू र मजदुरहरूको सङ्ख्याको १/७ भन्दा धेरै नै हो । यीमध्ये कुल ६८ वा ६ प्रतिशत मजदुर हरूलाई कि अत्यधिक यान्त्रिकीकरणका कारण कि त श्रम सघनतामा कमीका कारण बर्खास्त गरियो जब कि ९० प्रतिशतभन्दा धेरै मजदुरलाई त श्रम सघनतामा वृद्धिका कारण नै बर्खास्त गरियो । माक्र्सले भन्नुभएको छ, ‘सम्पूर्ण पुँजीवादी उत्पादनको यही कठिन समस्या हो : कार्यदिवसलाई लम्ब्याउनु, श्रम उत्पादकतामा वृद्धि गर्नु र यसप्रकार श्रमशक्तिलाई अरू धेरै सघन बनाउँदै जानेजस्ता उपायहरूको माध्यमबाट मुआब्जारहित श्रम बढ्दै जानु ।’३ साम्राज्यवादी अवस्थामा आएपछि एकाधिकारी पुँजीद्वारा मजदुरहरूबाट मुआब्जारिहत श्रमको शोषण सयकडौँ गुणाले बढेको छ । पुँजीवादी साम्राज्यवादी देशहरूमा अतिरिक्त मूल्यको शोषण बढाउने गर्जबाट श्रम सघनतामा धेरै वृद्धि गर्ने हेतुले मजदुरहरूलाई बाध्य पार्ने तथाकथित ‘वैज्ञानिक प्रबन्धन विधिहरू’ जस्तै ‘टेलर सिस्टम’ को प्रयोग एकाधिकारी पुँजीद्वारा गरिँदै आएको छ । सोभियत संशोधनवादी गद्दार गुटद्वारा लागू गरिएको यो ‘सोकिनो प्रयोग’ पनि त्यही ‘टेलर सिस्टम’ कै कार्बन कपी थियो जसलाई लेनिनले ‘रगत–पसिना चुस्ने प्रणाली’ भनेर कडा भत्र्सना गर्नुभएको थियो । वस्तुतः यसमा निहित कुत्सित मनशाय के थियो भने एउटा रुसीलाई एकै साथ कैयौँ काम गर्नका लागि बाध्य पार्न सकियोस् र यसप्रकारले उसबाट धेरै अतिरिक्त श्रम र अतिरिक्त मूल्य निचोर्न सकियोस् ।

यो ‘सोकिनो प्रयोग’ लाई लागू गरिसकेका १२१ उद्योगहरूले जुलाई १९७१ सम्ममा नै ६५,००० मानिसलाई बर्खास्त गरिसकेका थिए र आज परिस्थिति कस्तो छ भने सोभियत सङ्घमा ठूलो मात्रामा बेरोजगारी उत्पन्न भइसकेको छ । सोभियत संशोधनवादको राजकीय एकाधिकारी पुँजीवादको यो आर्थिक प्रणाली पुँजी र भाडाका मजदुरहरूका बीचको सम्बन्धलाई त्यसको अन्तिम हदसम्म धकेलिसकेको छ । त्यसको परिणामस्वरूप उसले सोभियत मजदुर वर्ग र व्यापक श्रमजीवी जनताको ठूलो विरोध पनि झेल्नु परिरहेको छ र अगाडि पनि झेल्नु पर्नेछ ।

सोभियत संशोधनवादी ‘नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध’ नवउपनिवेशवादकै अर्को नाम हो ।

एकाधिकारी मुनाफालाई अत्यधिक बढाउँदै जाने गर्जबाट एकाधिकारी पुँजीले आफ्नै देशभित्रका जनताको अत्यधिक शोषण गर्नुका साथै अपरिहार्यतः विदेशहरूमा पनि आफ्ना कदम बढाउन थाल्छ । पुँजी निर्यात गरेर र औपनिवेशिक नीतिहरू अपनाएर यसले अन्य देशहरूका जनतालाई नोकर बनाई उनीहरूलाई लुट्न थाल्छ । अतः स्वाभाविक छ– सोभियत संशोधनवादको एकाधिकारी पुँजीवाद पनि सोभियत मजदुरहरू र किसानहरूको मात्र शोषणबाट सन्तुष्ट रहन सक्दैन र त्यसकारण अपरिहार्य रूपमा विदेशहरूमा पनि आफ्ना पञ्जा फैलाइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *