समुदायकै नेतृत्वमा सामुदायिक विद्यालय सुधार


  • महेश न्यौपाने

समुदायको सचेत प्रयास र नेतृत्वमा सामुदायिक विद्यालय सुधारका प्रयास थालनी भएका छन । सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भएपनि अपेक्षाकृत उपलव्धी नदेखिदा सामुदायिक विद्यालय प्रति देखिदै गएको अविश्वासलाई न्यूनिकरण गर्न यस्ता प्रयासले सार्थकता समेत लिन थालेका छन । विद्यालय सुधार रातारात हुने विषय पनि होईन । योजनावद्ध ढंगले लामो समयको प्रयासपछि मात्र सामुदायिक विद्यालय सुधार संभव छ । विद्यालय सुधार अभिभावक, शिक्षक र विद्यार्थीको आत्मै देखिको प्रतिवद्धता र अर्थपूर्ण प्रयासले मात्र संभव छ । विद्यालय सुधारका लागि समुदायको नेतृत्व पहिलो शर्त हो । समुदायले नेतृत्व नगरेको विद्यालय सुधारले सार्थकता र निरन्तरता पाउन सक्दैन ।

सामुदायिक विद्यालय प्रति अभिभावकहरु अझै पनि पूर्ण रुपमा विश्वस्त हुन सकिरहेका छनन कि उनीहरुले गुणस्तरीय शिक्षा दिन्छन भन्ने विषयमा । यसको मुख्य कारण विगतमा सामुदायिक विद्यालयले अभिभावकलाई दिएको सेवा नै हो । साथै अधिकांश सामुदायिक विद्यालयको पठन पाठनमा अझै पनि सुधार नआउनु अर्को पक्ष हो । सामुदायिक विद्यालय टाईम पास गर्ने स्थानको रुपमा विकास भैरहदा एकाध सामुदायिक विद्यालयले गर्न खोजेको सुधार प्रति पनि अभिभावक विश्वस्त हुन सकेका छैनन । पछिल्ला दिनमा सामुदायिक विद्यालय सुधारका केही प्रयास भैरहेका छन । शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको प्रयासवाट केही विद्यालय सुधार हुदै गएको सुन्नमा आए पनि ती विद्यालय सुधारको दीगोपनाको अभाव देखिन्छ । केही वर्ष सुधार भएजस्तै देखिने तर निरन्तरता नपाउने समस्या देखिने गरेका छन । विद्यालय सुधार देखासिकी, लह लहैमा र लहडमा हुने विषय पनि हैन । यसको मुख्य शर्त नै शिक्षकको कर्तव्यपरायणता अभिभावको कृयाशीलता र विद्यालय व्यवस्थापन समितिको दक्ष व्यवस्थापकिय कार्यशैली हो ।

म शिक्षण पेशा पनि गर्छु भन्ने मानसिकतावाट म शिक्षण पेशा मात्रै गर्छु भन्ने भावना जवसम्म शिक्षकमा विकास हुदैन तव सम्म विद्यालय सुधारको गुन्जयास संभव छैन । विद्यालय सुधारको पहिलो कारक शिक्षक नै हो । शिक्षक समयमा विद्यालय उपस्थित हुने, समयमा कक्षा कोठा जाने, पुरै पिरियड अध्यापन गर्ने, अध्यापन गर्दा आफुले सिकेका सिप प्रयोग गर्ने, नयाँ र सिर्जनशील अभ्यासवाट पठन पाठन गराउने, दैनिक गृहकार्य चेकजाँच गर्ने जस्ता काममा शिक्षक दत्तचित्त भएर लाग्ने हो भने विद्यालय सुधारको अधितम काम पुरा हुन्छ । तर यसको ठिक विपरित सामुदायिक विद्यालयको शिक्षकहरुमा यस्तो भावना ह्रास हुदै गएको छ । ढिलो गरेर विद्यालय पुग्ने, कक्षा कोठा ढिलो जाने, पढाउनु पर्ने पुरै समय नपढाउने, वेलुका छिटै घर फर्कने, अध्यापन गर्दा सिर्जनशीलताको अभ्यासै नगर्ने, वर्ष अघि तयार गरिएका नोट टिपाउने, गृह कार्य नदिने, दिए पनि पृष्ठपोषण नदिने जस्ता समस्याहरु देखिएका छन ।

म शिक्षक पनि हँु भन्ने भावना सामुदायिक विद्यालयका शिक्षकहरुको खतरनाक सोचाईको रुपमा रहदै आएको छ । सरकारी कोषवाट तलव भत्ता खाए पनि शिक्षकहरुले अन्य पेशा व्यवसाय पनि साथ साथै गरेको देखिन्छ । व्यापार, ठेक्का पट्टा, व्यवसायिक कृषि, राजनीति आदी । यसले गर्दा उनीहरुमा पनि शिक्षक मात्रै हु भन्ने भावन कहिल्यै पलाउन पाएन । दिनभरी पढाउने विषयको विहान तयारी, वेलुका गृहकार्य परिक्षण गर्नु पर्नेमा त्यसो गरिएको देखिदैन । जुन पेशा मुख्य हो त्यसलाई सहायक जस्तो वनाउने जुन सहायक हो त्यसलाई मुख्य वनाउने कार्यले शिक्षकको पेशागत क्षमता विकास हुन सकेको छैन । पेशागत सुरक्षाका लागी आफुले रोजेको विभिन्न संघ संगठनमा आवद्ध हुनु प्रचलित कानून अनुसार अश्वभाविक नमानिए पनि शिक्षकहरु पेशागत राजनीति भन्दा पार्टीको झण्डा वोकेर हिड्ने प्रवृद्धीले समेत सामुदायिक विद्यालयको पठन पाठन उस्कन नसक्ने अर्को कारण हो ।

विद्यालय सुधारको अर्को पक्ष सक्रिय अभिभावक हुन । आलेखको आरम्भमा एक अभिभावकले आफ्नो वालवालिका प्रति देखाएको सचेतता जस्तै सवै अभिभावकमा यस्तो भावना जाग्न सके सामुदायिक विद्यालय सुधार असम्भव विषय होईन । सामुदायिक विद्यालयका अधिकांश अभिभावक वर्षमा विरलै एक पटक आफ्ना नानी वावुले अध्ययन गर्ने विद्यालय पुग्छन । भर्नाको वेला अभिभावक चाहिने भएका कारण उनीहरु विद्यालय पुगे पनि अन्य समय आफ्ना नानी वावुको पढाई वारे उनीहरुलाई सोच्न तथा सोध्न फुर्सद छैन । नानी वावु विद्यालय गए नगएको, विद्यालयमा राम्रो ढंगले पढाई भए नभएको, नानी वावुले दैनिक गृह कार्य गरे नगरेको, परिक्षामा नानी वावुको नतिजा राम्रो भए नभएको, विद्यालयले नानी वावुलाई दिने सुविधा उचित कक्षा कोठा, वेन्च डेस्क, सरसफाई, पिउने पानी, सौचालय आदी व्यस्थित भए नभएको जस्ता कुराको वारेमा चासो दिने अधिकांश अभिभावकलाई फुर्सद नै छैन । विद्यालय तथा घरमा नानी वावुको पढाईको निगरानी गरिहने, समय समयमा विद्यालयलाई पृष्ठपोषण दिईरहने, नानी वावुको शिक्षा र पोषणमा लगानी गर्न कन्ज्युस्याई नगर्ने अभिभावक भएमा विद्यालय सुधार गर्न कुनै आईतवार पर्खनु पदैन ।

विद्यालय सुधारको अर्को पक्ष विद्यालय व्यवस्थापन समिति हो । विगतमा विद्यालय संचालन समितिको रुपमा विद्यालय संचालनको मात्र क्षेत्राधिकार दिएका कारण अधिकांश अभिभावकहरु अझै पनि यही मानसिकतामा छन । विद्यालयको समग्र व्यवस्थापन गर्ने गरि अभिभावकहरुवाटै चूनिएका प्रतिनिधि विद्यालय व्यवस्थापन समितिमा रहने भएपनि यसको जिम्मेवारी वोध हुन नसक्नु अर्को समस्या हो । शिक्षकको तलव भुक्तानी वेला चेकमा हस्ताक्षर गर्ने, विद्यालयको भिर फुकाउदा निर्णय गर्ने, नीजि श्रोतमा राखिएको शिक्षकका लागी श्रोत खोजी गर्ने जस्ता काममा मात्र अधिकांश विद्यालय व्यवस्थापन समितिहरु अल्झीरहेका छन ।

विद्यालय व्यवस्थापन समितिले गर्ने काम असिमित छन । समग्र विद्यालयको व्यवस्थापन गर्ने जिम्मा हो उनीहरुको । श्रोत व्यवस्थापन तथा परिचालन गर्ने, पूर्वाधार व्यवस्थापन गर्ने, शिक्षक कर्मचारी व्यवस्थापन तथा परिचालन गर्ने, अनुगमन गर्ने आदी काम विद्यालय व्यवस्थापन समितिले गर्ने काम हुन । विद्यालय व्यवस्थापन समितिमा चुनिएर आउदाको दिनै आफ्नो कार्यकालमा विद्यालयलाई कस्तो वनाउन चाहेको हो त्यो सपना देख्नु पर्छ । सपनालाई विपनामा रुपान्तरण गर्न आवधिक कार्ययोजना वनाउने र त्यसलाई कार्यान्वयन गर्ने काम गर्दै दक्ष व्यवस्थापकको रुपमा विद्यालय व्यवस्थापन समितिलाई विकास नगर्दा सम्म विद्यालय सुधारको संभावना देखिदैन ।

विद्यालय सुधारका यी तीन महत्वपूर्ण पक्षका अतिरिक्त विद्यार्थि, राजनैतिक क्षेत्र र अन्य सरोकारवाला पनि नभई नुहने पक्ष हुन । मुख्य जिम्मेवारीको हिसावले तीन पक्षलाई समावेश गरिए पनि विद्यालय सुधारको आन्तरिक र वाह्य वातावरणको मिलन हुन सवै पक्षको सहयोग उत्तीकै जरुरी हुने कुरालाइ कदापी विर्सन हुदैन । सुधार संभव छ , हामी गर्न सक्छौ भन्ने भावना आत्मै देखि आयो भने सामुदायिक विद्यालय सुधार अभियानले सार्थकता पाउन सक्छ । सधै सकारात्मक सोचका साथ प्रतिवद्ध भएर लाग्यौं भने असम्भव केही छैन ।

(लेखकः नेपाल पत्रकार महासंघ रोल्पाका दोस्रो कार्यकालका अध्यक्ष हुनुहुन्छ)

प्रकाशित मिति   :