तुलाधरको निधनलाई कुन नेताले कसरी सम्झे …


काठमाडौं । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व. पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुग्नुभएको छ । उहाँको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न पौने १ मा उपचाररत रहँदाकै अवस्थामा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारसँग कुरा गर्दै तुलाधरले प्रजातन्त्र पुनःस्थापना, मानवाधिकार र शान्ति प्रक्रियामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिन पद्मरत्नले खेलेको भूमिका कहिल्यै बिर्सन सकिन्न ।

नेतृ हिसिला यमीसहित अस्पताल पुग्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले तुलाधार लोकतान्त्रिक आन्दोलनका खम्बा, तथा सबैका आदरणीय आदर्शवान र निष्ठावान् व्यक्तित्व भएको प्रतिक्रिया राससलाई दिनुभयो । उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि अस्पताल पुग्नुभएको थियो । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो ।उहाँ पत्रकार तथा साहित्यकार पनि हुनुहुन्थ्यो । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

यस्तै सामाजिक संजालबाट पनि तुलाधरलाई सम्झनेको लामै सुची छ जसमा काँग्रेस नेता बिमलेन्द्र निधिले पनि ट्विट गर्दै तुलाधरको सम्झना गर्दै लेखेका छन् द्वन्द समाधान तथा शान्ती प्रकृयाका एक प्रमुख सहजकर्ता, मानव अधिकारवादी लोकप्रिय नेता पद्मरत्न तुलाधरको असामयिक निधन भएकोमा गहिरो दु:ख व्यक्त गर्दछु।वहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति सम्वेदना व्यक्त गर्दछु। हार्दिक श्रद्धाँजलि ।

यसै गरि नेकपा अध्यक्ष पुष्पकमल दाहालले फेसबुकबाट सम्झदै लेखेकाछन् मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको आज दिउँसो निधन भएकोमा अत्यन्त मर्माहत भएको छु । पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा उहाँले खेल्नुभएको भूमिका सदा स्मरणीय छ । पहिचान र संघीयताका पक्षधर वाम बुद्धिजीवि दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु । 

यस्तै पर्यटन मन्त्री तथा नेकपा नेता रबिन्द्र अधिकारीले यस्तो लेख्छन वरिष्ठ मानव अधिकारवादी तथा नेपालको वामपन्थी आन्दोलनका अग्रज नेता, श्रद्धय पद्मरत्न तुलाधरको निधनको खवरले दुःखी बनाएको छ । नेपालको वामपन्थी आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान सदा स्मरणीय रहनेछ । आदरणीय नेता पद्मरत्न प्रति भावपूर्ण श्रद्धाञ्जली । परिवारजनमा गहिरो समवेदना ।

 

 

 

 

 

प्रकाशित मिति   :