मेरो छेउको त्यो पुरुषले बिनाकारण मेरो अंग प्रत्यङ्ग स्पर्श गर्न थाल्यो…


इन्द्र थेगिम

नेपाल आइडलमा पाहुना भएर आउने हाँस्य कलाकार सन्दीप क्षेत्रीले प्रसङ्गबस कार्यक्रमकी होस्ट रीमालाई अंकमाल गरे र भने, मी टू अभियान चलिरहेको छ।रीमाले आफ्नो हँसिलो मुद्रा नबिगारी भनिन्, मी टू! अनि सन्जिवले फेरि मी थ्री भनेपछि रीमाका को–वर्कर आशिफले मी फोर भनेर मजाक गरेर बिट मारे। दर्शकले सायद यसबारे तत्कालै अन्दाज लगाउन सकेनन्।

नेपाल आइडलको अर्को एपिसोडको शुरुवातमै एपीवन च्यानलले दर्शकसँग माफी माग्यो।त्यसरी मैले मी टू (म पनि यौन हिंसाको शिकार भएँ) अभियानबारे थाहा पाएँ अनि करिब १८ वर्षअघिको एउटा घटना सम्झिएँ, जसमा म जोडिएकी थिएँ।त्यो घटना सम्झँदै गर्दा मेरो मनमा अहिले फेरि केही प्रश्न उठे– के हामी नारीहरु जन्मजात नै निरिह हुन्छौं? कि हामीलाई समाजले निरिह बनाउँछ? किन हामी त्यति नै बेला भन्ने आँट गर्न सक्दैनौं जतिबेला घटना घट्छ।

१८ वर्षअघिको कुरा हो। बिराटनगरको साझा एक्सप्रेस बस चढेर म र मेरी एकजना साथी धरानतर्फ गइरहेका थियौं। शुभविवाहमा सरिक हुनुपर्ने हुँदा त्यो दिन हामी दुबैले सारी लगाएका थियौं।लोकल एक्सप्रेस बसको यात्रा न हो। रोक्ने ठाउँमा रोकेकै छ, रोक्नु नपर्ने ठाउँमा पनि रोकेकै छ। खलासीले गाडी अघि बढाउन जोडले ढङढङ गर्दा हामी यात्रुको मुटु नै थर्किने। त्यसमाथि ड्राइभरले बारम्बार बजाउने ट्वाँ ट्वाँ गर्ने कर्कस हर्नले त अर्धबेहोस नै भइथ्यो।दुबी, इटहरी हुँदै तरहरासम्म पुग्दा नपुग्दै बस खचाखच भरियो। र, हेर्दाहेर्दै ढोका बाहिर आधा शरीर र हात झुन्ड्याएर यात्रा गर्नेहरु धेरै भए। हामी दुई जना चाहिँ जसरी पनि गन्तव्यमा पुगिहालिन्छ भन्ने हिसावले आफ्नै गफमा मग्न थियौं। केटौली गफ न हो, फलाना, तिलना र ढिस्कना भन्दै जोड जोडले गफ गर्दै हाँस्दै थियौं। बस तरहराबाट चारकोशे झाडीको सडकतिर मोडियो।

हामी क्याबिन नजिकको सीटमा थियौं। क्याबिन अगाडि खचाखच यात्रु थिए। हाम्रो दायाँबायाँ अन्य यात्रुहरु थिए। मेरो दायाँ कुमतर्फ एकजना फिस्टे फिस्टे पुरुष थियो, जो हाम्रो कुरा नबुझे पनि चाख मानेर सुनिरहेको भान हुन्थ्यो। बस जति घ्याच्च घ्याच्च गथ्र्यो उति नै त्यो मान्छे मतिर हुत्तिन्थ्यो।बस फेरि राजमार्गतर्फ हुँइकिन थाल्यो, जहाँ पहिला जस्तो घ्याच्च घ्याच्च गर्नु पर्ने अवस्था थिएन। मेरो छेउको त्यो पुरुषले भने अब बिनाकारण मेरो अंग प्रत्यङग स्पर्श गर्न थाल्यो। आँखा रसिलो र ओठ भरिलो पारेर ऊ मेरो ब्लाउजमाथि घरि घरि हातले फ्रिक्सन (घर्षण) गरिरहेको थियो।

यी सबै कुरा आफ्नै काखीमुनी सारीको सप्कोको आडमा हेरिरहेकी थिएँ। यहाँनेर मलाई गज्जब के लागिरहेको थियो भने आखिर कुनै नारी स्ट्रेन्जरलाई केही सेकेन्ड वा मिनेट टच गर्न सुँघ्न पाउँदा पुरुषलाई के प्राप्त हुन्छ?अघिसम्म सम्मानको दृष्टिले हेरेको त्यो पुरुषप्रति अब ममा घृणा जागृत भयो। खपि नसक्नु रिस उठेर आयो। सँगैको साथीलाई एक घुस्सिङ मारें, उसले तर्सिँदै मतिर हेरिन्।

उसले जोडले सोधी, ‘के भयो ओई?’मैले ओठमा सुस गर्दै उसलाई चुप लगाउन खोजें। अनि त्यो मानिसतर्फ हेर्न इशारा गरें।मेरो अंगसँग कस्तरी छिल्लिरहेको छ हेर  मैले भनें।मेरो साथीको पारो छुट्यो, उनी कस्सिँदै बोल्न थालिन, ‘ओई साला चुतिया। तँलाई एक्कै गाँसमा बसको झ्यालबाट फ्याँकिदिउँ।’मेरो पनि रिस नउम्लेको त कहाँ हो र? हातको इशाराले साथीलाई एकछिन रोकें र दुबै हात उठाउँदै हुकुम गरें, ‘गुरुजी बस रोक्नोस्। सबैजना यता हेर्नुस्, यहाँ मेरो छेउमा बस्ने महासयको भद्र अनुहार हेर्नुस्। कस्तो इनोसेन्स छ, तर यो मान्छेले मलाई सेक्सुअली ह्यर्‍यास गर्ने हर्कत गरिरहेको छ।’

एउटी कल्कलाउँदी भर्खरै उमेर पुगेकी सारी लगाएकी केटीले यसरी खुल्लेआम आँट गरेर सबै सामु सेक्सुअल ह्यरेसमेन्टको कुरा गर्दा सबैले जिब्रो टोके। ड्राइभरले बस रोके र टोपी झिकेर मुख छोपे। बसका धेरै महिलाले छाती फुलाएर मेरो जयजयकार गर्दै बोले– ठिक्क परो। अब तिमी लोग्ने मान्छेको अनुहार हेर्न लायक भो।

सबैले मलाई अब के गर्ने भनेर सोधे। मलाई सानो ठाउँमै भएपनि सही गरें भन्ने लाग्यो। यसो हेरें, ती मानिस लाज र सरमले त्यत्तिकै पनि पानीपानी भएको पाएँ।अब उप्रान्त के सजाय दिऊँ? आइन्दा यस्तो हर्कत नगरेस्। र, अहिले नै यो बसबाट उत्रेस्’ भनेर आदेश दिएँड्राईभरले ‘ल ठिक छ बैनी। सबैले यसरी आवाज उठाए हाम्रो समाज कति जाती भै जान्थ्यो’ भन्दै मलाई स्याबासी दिए।सबै एकटक मलाई नै हेरिरहेका थिए। ती पुरुषलाई बिच सडकमै उतारेर बस तिनकुने हुँदै धरानतर्फ मोडियो।

 

 

प्रकाशित मिति   :