६ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिंदै !


काठमाडौं, ६ मंसिर । रसुवा र नुवाकोटमा निर्माणाधीन करीब ६ सय मेगावाट क्षमताको जलविद्युत् त्रिशुली–३ बी आयोजनालाई राष्ट्रिय प्रशारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्यास भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बुधबार निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण प्रणाली आयोजनाको नुवाकोट किस्पाङ गाँउपालिका–५ परैबेसीमा शिलान्यास गर्दै ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा आज नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गर्नुभयो । सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ ।

सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १११ मेगावाट क्षमतामा रसुवागढी, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन र १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनलगायतका निर्माणाधीन र निर्माणमा जाने क्रममा रहेका करीब एक दर्जन आयोजनाको विद्युत् जोडिने छ ।

निर्माणका क्रममा सुपर साञ्जेन, माथिल्लो मैलुङ र माथिल्लो त्रिशूली थ्री बीसँगै निजी क्षेत्रको अर्को आयोजना समेत निर्माणमा जाने तयारीमा रहेको छ ।त्रिशूली र त्यसका सहायक नदीमा निर्माण हुने अधिकांश आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण प्रणालीमा जडानका लागि महत्वपूर्ण मानिएको सवस्टेशनको शिलान्याससँगै निर्माणाधीन आयोजनाको काममा समेत गति पैदा हुने विश्वास बढेर गएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सो सवस्टेशन त्रिशूली करिडोरका लागि रणनीतिक महत्वको छ । रसुवा तथा नुवाकोटमा पछिल्लो समय सरकारी स्वामित्वका तथा निजी क्षेत्रका दर्जन बढी आयोजना निर्माणका विभिन्न चरणमा छन् ।

ती आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन र स्थानीयस्तरमा वितरणका लागिसमेत सवस्टेशन महत्वपूर्ण छ । नेपाल र चीनबीच निर्माण हुन लागेको ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन्स समेत सोही क्षेत्र भएर जानेछ ।प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार सवस्टशेनमा ३२० केभिए क्षमतामा ६ वटा ट्रान्सफर्मर जडान गरिनेछ । यस्तै स्थानीयवासीलाई सहजरुपमा विद्युत् उपलब्ध गराउन थप एक ट्रान्सफर्मरसमेत जडान गरिनेछ । प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए आयोजना आगामी छ महिनाभित्रै निर्माण सम्पन्न हुने चरणमा छ ।

यस्तै ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बीले समेत निर्माण शुरु गरिसकेको छ । सोही सवस्टेशनबाट नुवाकोटका केही गाउँमा समेत स्थानीयवासीलाई विद्युत् सुविधा उपलब्ध गराइनेछ । प्राधिकरणका अनुसार चिलिमे–त्रिशूली र समुन्द्रटार–त्रिशूली प्रसारण लाइनबाट आउने विद्युत समेत सोही सवस्टशेनमा जोडिने छ ।विद्युत् प्राधिकरणको ३५ प्रतिशत लगानीसहित ती तीन योजनामा युरोपियन इन्भेष्टमेन्ट बैंकको सहुलियत ऋण सहयोग र युरोपियन युनियन र जर्मन सरकारको अनुदान सहयोग रहेको छ । यी परियोजना निर्माणमा ६५.२५ मिलियन युरो लगानी लाग्ने प्रारम्भिक अनुमान गरिएको निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण प्रणाली आयोजना प्रमुख थर्कबहादुर थापाले जानकारी दिएका छन् ।

चिलिमे हब र थ्री बी हब निर्माणका लागि समान १३ मिलियन युरो र चिलिमे–त्रिशूली प्रशारण लाइनका लागि ११ मिलियन युरो लाग्ने उनले जानकारी दिए । यी योजना विसं २०७६ जेठ ३० मा सम्पन्न हुने लक्ष्य राखिएको छ । यी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीलाई दिइएको छ ।प्राधिकरणले त्रिशूली–काठमाडौं २२० डलब सर्किट प्रशारण लाइन निर्माणको काम माथिल्लो त्रिशूली थ्री ‘ए’ आयोजनामार्फत अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले मुलुकको आर्थिक समृद्धिसँग जोडिएका ऊर्जा क्षेत्रमा युरोपेली लगानी बैंकलगायतका साझेदारको सहयोग अनुकरणीय रहेको बताएका छन् ।

 

प्रकाशित मिति   :