सापट दिएको ३० हजार माग्दा नयाँदिल्लीमा मारिए दुई जना नेपाली


भारतको राजधानी नयाँदिल्लीको कापस हेरामा एक जना नेपाली नागरिकले आफूले सापट दिएको ३० हजार रुपैयाँ फिर्ता माग्दा ज्यान गुमाउनु परेको छ । बुधबारको भारतीय पत्रिका बिजनेस स्ट्यान्डर्डले जनाएअनुसार सो घटनामा संलग्न रहेका २६ वर्षिय एक युवक र उनका साथी रहेका अर्का एक किशोरलाई मंगलबार भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सो घटना यही मार्च २१ तािरखको राति भएको थियो । मारिने नेपाली ४८ वर्षिय भोजनारायण रहेको प्रहरीले जनाएको छ । उनको नेपालमा घर कहाँ हो भन्ने पनि समाचारमा खुलाइएको छैन । २६ वर्षिय ती युवकको नाम भने नितिन यादव हो । अर्का किशोरको नाम भने प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार नीतिनले नै प्रहरीलाई फोन गरेर कोही व्यक्ति घाइते भएको जानकारी गराएका थिए ।

उनले आफूले सहयोगीको भूमिका खेल्दै भोजनारायणलाई अस्पताल लग्ने प्रयास गरेको भन्दै सुरुमा ढाँटेका थिए । तर प्रहरीले कहाँ भेटेको हो र के भएको हो भन्ने बारेमा सोधपुछ गर्दा उनले चित्तबुझ्दो जवाफ दिन नसकेपछि उनलाई निगरानीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको डेपुटी कमिस्नर अफ पुलिस (डीसीपी) देवेन्द्र आर्यालले बताएका छन् । पछि भने निज यादवले आफूले नै घटना गराएको स्वीकार गरेका थिए ।

प्रहरीले जनाएअनुसार हत्याको प्रमुख कारण ३० हजार रुपैयाँ सापट लिएको प्रसंगसँग जोडिएको पाइएको छ । मारिएका व्यक्तिसँग यादवले सो रकम सापटी लिएका थिए । भोजनारायणले रकम माग्दा हत्या भएको बताइएको छ । भोजनारायण कापस हेरा फार्म हाउस नजिकै लडिरहेको अवस्थामा भेटिएका थिए । केही रगत समेत सो स्थानमा लागेको देखिएको थियो । पछि यादवले आफूले नारायणलाई फलामको रडले आक्रमण गरेको र द्वारकामा रहेको निजी अस्पतालमा भर्ना गरेको तर त्यहीँ चिकित्सकले उनलाई मृत घोषणा गरेको स्वीकार गरेका थिए । नारायण कापस हेरामा एउटा भाडाको घरमा बस्दै आएका थिए ।

‘‘विस्तृत रुपमा अनुसन्धान थालिएपछि यादवले आफ्नो अपराध स्वीकार गरेको छ । उसले आफूले फलामको रडले टाउकोमा हानेको स्वीकार गर्यो । उसले केही महिनाअघि नारायणसँग ३० हजार रुपैयाँ सापट लिएको बताएको छ । भोजनारायणले सो रकम फिर्ता गर्न दबाब दिएपछि उसले मार्ने योजना बनाएको रहेछ,’’ डीसीपी आर्यालाई उद्धृत गर्दै बिजनेश स्ट्यान्डर्डले जनाएको छ ।

प्रकाशित मिति   :