Advertisement

यसरी जोगाउन सकिन्छ तपाईहरुको आँखा, के के गर्ने जानिरख्नुहोस


Advertisement

आँखाले देख्छ । देखेकै कारण हामीलाई यो संसारमा हुनुको आनन्द छ । जीवनका सारा रंगहरुको हामी मजा लिनसक्छौं । तर, आधुनिक समाजमा हाम्रो आँखाको बोझ बढ्दै गएको छ । खासगरी टेबलमा बसेर काम गर्ने कर्मचारीका आँखा दिनभरी व्यस्त रहन्छ ।

कर्मचारीलाई आँखाप्रति सजग गराउनकै लागि प्रिभेन्ट व्लाइन्डनेस अमेरिकाले हरेक वर्ष मार्च महिनालाई कार्यस्थल आँखा कल्याण (वर्कप्लेस आइवेलनेस) महिनाका रुपमा मनाउँदै आएको छ ।

धेरै जना कर्मचारी आँखाको सुरक्षामा खासै ध्यान दिँदैनन् । आँखाको सुरक्षा सिकर्मी, मेकानिक्स, वेल्डरजस्ता पेसामा संलग्न हुनेलाई मात्रै चाहिने ठान्छन् । यो साँचो होइन । आँखाको सुरक्षाबारे सबै कर्मचारी सजग हुनु जरुरी छ ।

हाम्रो धेरैजसो समय ल्यापटप, डेस्कटप कम्प्युटर, ट्याब्लेट, मोबाइललगायतका डिजिटल प्रविधियुक्त उपकरणमा व्यतित भइरहेको हुन्छ । जसले गर्दा आँखा झिमझिम कम हुन्छ र आँखामा तनाव -स्ट्रेस) बढछ ।

भिजन काउन्सिलको एक तथांकअनुसार प्रत्येक दिन ६० प्रतिशतभन्दा बढी मानिस र कर्मचारीले पाँच वा त्योभन्दा बढी घण्टा कुनै न कुनै डिजिटल उपकरणको प्रयोग गरिरहेका हुन्छन् । जसको कारण आँखालाई धेरै स्ट्रेस भइरहेको हुन्छ ।

धेरै समयसम्म डिजिटल उपकरणको प्रयोग र पर्याप्त विश्रामको कमीले गर्दा आँखा थाक्ने, दुख्ने, पोल्ने, रातो हुने, धमिलो देख्ने, सुख्खा हुने, टाउको, घाँटी, ढाड दुख्ने समस्या हुन्छ । यसलाई चिकित्सकीय भाषामा ‘कम्प्युटर भिजन सिन्ड्रोम’ भन्ने गरिन्छ ।

कम्प्यूटरको प्रयोग गर्नेमध्ये झण्डै ५० देखि ९० प्रतिशत मानिसले यीमध्ये कुनै न कुनै लक्षण अनुभव गरेकै हुन्छन् । पहिले नै आँखा कमजोर (नेअर साइटनेस) हुने, चश्मा आवश्यक भएर पनि नलगाउने, गलत निर्धारणको चश्माको प्रयोग गर्नेहरुलाई यो समस्या अझै बढी हुने गर्छ ।

ई-पुस्तकहरूको उपलब्धताले गर्दा भारी पुस्तक बोक्न नपरे पनि यसको धेरै प्रयोग गरेमा स्क्रिनबाट निलिने किरण र ग्लारेले आँखालाई उत्तिकै असर पारिरहेको हुन्छ । त्यसैले, पनि हामीले धेरै लामो समयसम्म ई-पुस्तक पढ्नु उचित हँदैन ।

डिजिटल उपकरण प्रयोग गर्दा आँखालाई कसरी जोगाउने ? त्यसबारे केही उपाय यस्ता छन्ः

उचित दूरीः कम्प्युटर स्क्रिन आफ्नो आँखाबाट २०-२६ इन्च टाढा र आँखास्तरभन्दा अलि तल राख्नुहोस् । कम्प्युटर स्त्रिmन मा डाइरेक्ट प्रकाश नहोस् । चलाउनुअघि धूलो सफा गर्नुहोस् र कम्प्युटरमा प्रोटेक्टिभ स्क्रिन राख्नुहोस् । कम्प्युटरमा लेख्दा वा पढ्दा अक्षरहरुको साइज आफूलाई सहज हुने तरीकाले राख्नुहोस ।

सीधा र केन्दि्रत सिटः कुर्सी प्रयोग गर्दा एडजस्टेबल प्रयोग गर्नुहोस् । सीधा बस्नुहोस् । सुतेर कम्प्युटर, ल्यापटप, ट्याब्लेट कहिल्यै नचलाउनुहोस् ।

२०-२०-२० नियमः सधैं २०-२०-२० नियम प्रयोग गर्नुहोस् । यो भनेको, हरेक २० मिनेट, कम्तिमा २० सेकेन्डको लागि कम्तिमा २० फिट टाढाको बस्तुलाई हेर्ने गर्नुस् ।

आँखा झिम्काउनुस्ः कम्प्युटर प्रयोग गर्दा हामीले आँखा कम झिम्क्याउने गर्छौं । तर, कम्प्युरटर प्रयोग गर्दा आँखा अझ बढी झिम्क्याउनुपर्छ । त्यसैले, हरेकपल्ट कम्प्युटरमा बस्दा सम्झेरै भएपनि आँखा झिम्क्याउनुस् ।

पानी पिउनुस्ः कम्प्युटरमा बस्दा जहिले पनि एउटा पानीको बोतल आफूले देख्नेगरी साथमा राख्नुस् र पर्याप्त मात्रामा पानी पिउनुस् । पानी पिउँदाको समय छोटो भए पनि यसले आँखालाई बिश्राम दिन्छ । र, पर्याप्त मात्रामा पानीको पिएकै कारण समय-समयमा शौचालय जानुपर्ने हुन्छ । जसले गर्दा आँखालाई अझै केही समय बिश्राम गर्ने मौका मिल्छ ।

आँखा पहिरनः गुणस्तरीय चश्मा लगाउनु र कम्प्युटर धेरै प्रयोग गर्नु पर्नेहरुले ब्लुए कटलेन्सको प्रयोग गर्नु धेरै राम्रो मानिन्छ ।

विश्रामः समय समयमा केही मिनेट बिश्राम लिनुहोस् । आफ्नो सहकर्मीलाई पनि बिश्राम लिन प्रोत्साहन गर्नुस् । काम पक्कै पनि महत्वपूर्ण हुन्छ तर आफ्नो स्वास्थ्यभन्दा बढी चाहिँ पक्कै होइन ।

आँखाको जाँचः नियमित आँखाको जाँच गर्नुस् । सके हरेक छ महिना, नसके कम्तिमा वर्षको एकपल्ट भएपनि आँखाको जाँच गराउनुपर्छ ।

डिजिटल प्रविधिले हाम्रो जीवनलाई पक्कै पनि धेरै सहज बनाएको छ र यो दैनिक जीवनको अभिन्न अंग हो । तर हामीले यसलाई जिम्मेदारीको साथ प्रयोग गर्नुपर्छ । अन्यथा यसले स्वास्थ्यमा विभिन्न समस्याहरु निम्त्याउने गर्छ ।

(नेत्र विशेषज्ञ डा. डा. तेज्सु सिंह मल्ल सगरमाथा चौधरी आँखा अस्पतालमा कार्यरत छन्)

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement